नेपालगन्ज २७ मंसिर : मधेसी आयोगले थारु र मुस्लिमलाई मधेसी समुदायको सूचीबाट हटाउने निर्णय गरेको छ ।
आयोगको मसिंर २० गतेको बैठकले नेपालमा मधेसी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन–२०७८ बाट उपसमूह १ मा रहेको थारु र २ मा रहेको मुस्लिमलाई हटाउने निर्णय गरेको आयोगका अध्यक्ष डा विजयकुमार दत्तले जानकारी दिए ।
मधेसी आयोगले गरेको निर्णय कार्यन्वयनको लागि आयोगकी उपसचिव सबिता डंगोलले प्रधानमंत्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाएकी छन् ।
थारु र मुस्लिम समुदायका विभिन्न संघ–संगठनहरुले थारु र मुस्लिम समुदायको छुटै पहिचान र सभ्यता रहेको र सो मधेसी समुदायसँग नमिल्ने भन्दै मधेसी क्लस्टरमा आफुहरुलाई नराख्न मधेसी आयोगमा निवेदन दिएका थिए ।
आयोगका अध्यक्ष दत्तका अनुसार सो निवेदनमाथि टेकेर आयोगले थारु र मुस्लिमलाई मधेसीबाट हटाउने निर्णय गरेको हो ।
मधेशी आयोगले २०७८/७९ को वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थारु र मुस्लिम सहित १४९ जात लाई मधेशीको रुपमा सिफारिस गरेको थियो ।