नेपालगन्ज २८ मंसिर : लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) दाङबाट औपचारिक सेवा प्रारम्भ भएको छ । बुधबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन गरेपछि सेवा प्रारम्भ भएको हो ।
लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरी दाङमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको झण्डोत्तोलन तथा प्रदेश सरकारको कार्य शुभारम्भ समारोह गरेर औपचारिकता दिएको हो ।
योसंगै स्थायी राजधानी घोषणापछि पनि अस्थायी मुकाम बुटवलबाट हुँदै आएको लुम्बिनी प्रदेशको काम–कारबाही बुधबारदेखि दाङको देउखुरीबाट सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि कार्यान्वयनमा ल्याएको हो ।
राजधानी कार्यान्वयनमा आएसँगै अब देउखुरीबाटै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गरेसँगै कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो ।
देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारिएको छ । शिक्षालय परिसरमा अहिले राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालयलगायत संरचना रहने बताइएको छ ।
लुम्बिनीका १३ मध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालय यही परिसरमा रहनेछन् । बाँकी मन्त्रालयलाई परिसरबाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिलामन्त्री तिलकराम शर्माले बताए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ ।
अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिघा क्षेत्रफलमा साना–ठूला गरेर ४० भवन छन् । ती भवनलाई मर्मत गरी राजधानीको संरचना तयार पारिएको हो ।
अहिले देउखुरीलाई सिँगारिएको छ । यहाँका बस बिसौनी तथा प्रतीक्षालयमा नयाँ रङ लगाइएको छ । बजार क्षेत्र तथा मूल सडकमा पर्ने चोकहरूमा स्वागतद्वार निर्माण गरिएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जातजातिको कला संस्कृति झाँकी प्रस्तुत गरिएको थियो । मुख्यमन्त्रीको कार्यालय राप्ती उपत्यकामा आयोजना गरिएको बृहत् कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रिपरिषद्का सदस्य, निवर्तमान प्रदेश सभामुख, निवर्तमान प्रदेश सांसद, प्रदेशका मुख्य सचिव र सचिव, सुरक्षा निकायका उच्च पदस्थलगायत स्थानीय व्यापक सहभागिता रहेको छ ।