गुलरिया(बर्दिया) २९ मंसिर : बर्दियामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला कमिटि गठन गरिएको छ । बिमला विकको संयोजकत्वमा २१ सदस्यिय जिल्ला कमिटि गठन गरिएको हो ।
महिला हिंसा र उत्पीडनका विरुद्ध संघर्ष गरौं, बैज्ञानिक समाजबादका लागी प्रथम जिल्ला भेला सफल पारौं भन्ने नाराका साथ भएको भेलामा महिलाको आर्थिक सामाजिक र राजनीतिक रुपमा प्रत्यक्ष संलग्न हुन पाउनु पर्नेमा जोड दिइएको थियो ।
नेकपा बहुमत पार्टीको भातृ संगठन रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारीको प्रथम भेलाको उद्घाटन समारोहमा बुद्धिजिवि संगठनका केन्द्रिय संयोजक बालकृष्ण ओलीले अब अवस्था हैन व्यवस्था परिवर्तनका लागी फेरी एकपटक जुर्मुराउनु पर्ने बेला आएको बताए ।
उनले अहिलेको व्यवस्थाअनुसार आम सर्वसाधारण नागरिकले निर्वाचन लड्न सक्ने हैसीयत हुन नसक्ने भएका कारण यो निर्वाचन प्रणाली तथा सरकार गठन लगायताका व्यवस्थालाई विस्थापित गर्नका लागी फेरी संघर्ष गर्नु पर्ने बेला आएको बताए ।
महंगो निर्वाचन प्रणालीले देशमा थप भ्रष्टाचार विकृती निम्त्याएको हुँदा यसको विकल्पमा आफुहरु लागेको उनले बताए ।
कार्यक्रममा नेकपा बहुमत पार्टीका बाँके बर्दिया इन्चार्ज अनन्त, बर्दियाका पार्टी संयोजक शक्ति लगायतका वक्ताहरुले नेकपा माओवादीले जनयुद्धका नाममा धोका दिएको हुँदा आफनो घर परिवार नभनेर युद्धमा होमिएकाहरुको बिजोग भएको हुँदा समाजवाद ल्याउनका लागी फेरी एक पटक जाग्नु पर्ने बेला आएको बताए ।