बाँकेमा संगठित हुँदै रुकुमेली


बाँकेमा संगठित हुँदै रुकुमेली

नेपालगन्ज ५ पुषः रुकुमबाट बाँकेका विभिन्न ठाउँमा बसोबास गर्दै आएका रुकुमेलीहरु संगठित हुन थालेका छन् । रुकुमको पहिचान संरक्षण र रुकुमेली एकताका लागि रुकुमेलीहरु संगठित हुन थालेका हुन् ।

बाँकेका सबै वडा हुँदै पालिका र जिल्ला संगठन निर्माण गर्न लागिएको छ । यसरी संगठित हुँदा रुकुमको पहिचान र एकता मात्र नभइ रुकुमबाट आएर यहाँ समस्यामा परेकालाई समेत केही सहयोग पुग्ने अपेक्षा गरिएको यसका अभियान्ता रुद्र देवकोटाले जनाए ।

‘सबै रुकुमेलीका साझा थलोको रुपमा यसलाई लिन खोजेका छौं,’ उनले भने, ‘बाँकेमा बस्ने सबै रुकुमेली एक ठाउँमा उभिए यसबाट अन्य सामाजिक काम पनि गर्न सकिन्छ ।’

रुकुमेली सेवा समाज बाँके गठनकै सिलसिलामा कोहलपुर र शम्शेरगञ्ज क्षेत्रमा छलफल भएको यस अभियानमा जोडिएका डिल्ली शाहीले बताए । अन्य क्षेत्रमा पनि छलफल गर्ने कार्यक्रम तय भएको उनी बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘हामी रुकुमेली बसोबास भएको सबै क्षेत्रमा पुग्ने प्रयास गरेका छौं,’ उनले भने, ‘रुकुमेली सामूहिक भएर एकताबद्ध हुन जरुरी छ ।’ रुकुमबाट बाँकेमा बसोबास गर्नेको संख्या बढ्दै गएको छ । बाँके बस्नेको संख्या बढ्दै जाने गरेको र सामूहिक नहुँदा एकअर्काको समस्या बुझ्नसमेत कठिन भएको उनी बताउँछन् ।

रुकुमेली सेवा समाज गठनका लागि अहिले अभियान्ताहरु सक्रिय भएका छन् । अन्य जिल्लाबाट बाँके बस्नेहरुको संगठनहरु निर्माण भएका छन् तर, रुकुमबाट बाँकेमा बसोबास गर्नेहरु सामूहिक संगठित हुन सकेका छैनन् । अब संगठित भएर रुकुमेली एकता र पहिचानलाई झल्काउने अभियानमा लागेकाहरु बताउँछन् ।