बाँकेमा धान खरिद सुरु, २५ हजार क्विन्टल धान किन्दै खाद्य


बाँकेमा धान खरिद सुरु, २५ हजार क्विन्टल धान किन्दै खाद्य

नेपालगन्ज ६ पुष : ढिलोगरि बाँकेमा आजदेखि धान खरिद सुरु भएकोछ । बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान आजदेखि खरिद सुरु भएको हो ।

किसानले उत्पादन गरेको धान समयमै खरिद नगरिदिँदा सरकारले तोकेको भन्दा ८ सय रुपैयाँ कम मूल्यमा धान बिक्री गर्न किसान बाध्य भएका थिए । बुधबारदेखि सुरु गरिएको धान खरिदले किसानलाई ढिलै भएपनि केही राहत दिएकोछ ।

यसअघि धान खरिदमा ढिलाइ गरिँदा मूल्य नपाएपछि अखिल नेपाल किसान सङ्घ बाँकेका अध्यक्ष कृष्णविक्रम केसी र नेपाल किसान सङ्घका केन्द्रिय सदस्य धनमाया लुइँटेल रिचाले संयुक्त रूपमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगी किसानको धान छिटो खरिद गर्न ज्ञापन पत्र बुझाएका थिए ।

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

‘पहिलेजस्तो भीडभाडको अवस्था हुँदैन, त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले भने ।

उनले २५ हजार क्विन्टल धान खरिद हुने जानकारी दिँदै स्थानीय तहबाट वास्तविक किसान पहिचान हुनेगरी धान खरिद सुरु भएको उल्लेख गरे । खरिद गरिने धानमध्ये २० हजार छरुवा मध्यम र पाँच हजार मध्यम चामल हुने बताइएको छ ।

‘पहिले टाठाबाठा भएका किसानले मात्रै कुपन पाउने र उनीहरुले मात्रै धान बेच्ने हुन्थ्यो तर, अहिले वास्तविक किसानको पहिचानका आधारमा धान खरिद गरेका छौँ,’ लामिछानेले भने । गत आर्थिक वर्षमा अधिक वर्षाका कारण लक्ष्य पूरा हुन नसकेको तर, यस वर्ष धानको उत्पादन राम्रो भएका कारण लक्ष्य हासिल हुने लामिछानेले बताए ।

किसानले धान बेच्नका लागि स्थानीय सरकारको सिफारिस पत्र अनिवार्य गरिएको र यसले किसानलाई थप उत्तरदायी र जिम्मेवार बनाउने उनको भनाइ छ । किसानको धान एक जनाले ३० क्विन्टलसम्म बेच्न पाउने प्रावधान रहेको छ ।

धान बेच्न आएकी जानकी गाउँपालिकाका किसान रुपबहादुर कार्कीले जतिबेला किसानलाई बीउ र मलखाद आवश्यक पर्छ त्योबेला धान खरिद गर्दा किसानले राहत पाउने उल्लेख गर्दै समयमा नै किसानको धान खरिद गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन् ।

उनले आफूले डेढ बिघा खेतको मध्यम मोटा र मसिनो धान बेच्न ल्याएको जानकारी दिँदै बिचौलियाका कारण किसान मर्कामा परेको बताइन् । ‘जसले मल र बीउ खरिद गर्न बाध्य भए उनीहरुले न्यून मूल्यमा सुरुमा नै धान बेचे,’ किसान कार्कीले भनिन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका वरिष्ठ गुण नियन्त्रक सहायक रोशन श्रेष्ठले गुणस्तर मापदण्डलाई ध्यान दिएर किसानको धान खरिद हुने जानकारी दिँदै उपकरणबाट परीक्षण गरेर धान भिजेको पत्ता लाग्ने बताए ।

उनले गुणस्तरीय धानको मात्रै खरिद हुने जानकारी दिँदै धानलाई सफा गरेर बेच्न ल्याउन किसानलाई आग्रह गरे । सरकारले यस वर्ष मोटा धानको समर्थन प्रतिक्विन्टल मूल्य रु दुई हजार नौ सय ६७ र मध्यम धानको मूल्य तीन हजार एक सय २८ तोकेको छ । तर, केही किसानले बाध्य भएर सस्तोमा धान बेचेका छन् ।

खाद्य व्यवस्था कार्यालयले खरिद नगर्दा बजारमा व्यापारीलाई बाध्य भएर प्रतिक्विन्टल रु दुई हजार चार सय चारमा बिक्री गरेका थिए । धानखेती भएका क्षेत्रलाई आधार मान्दा यस वर्ष बाँकेमा एक लाख ४९ हजार एक सय दुई मेट्रिकटन धान उत्पादन भएको बताइएको छ । धान खरिद तीन महिनासम्म हुनेछ ।

गत वर्ष कम्पनीले २३ सय क्विन्टल मात्र धान खरिद गरेको थियो । तर, यस वर्ष भने २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएको छ । अहिले खरिद गर्न लागेको धान पनि ५ प्रतिशत किसानलाई नसमेट्ने हुँदा थप धान खरिद गर्न पर्नेमा किसानहरूको माग छ ।

एकदमै ढिला गरी धान खरिद गर्ने निर्णय गरिएको र त्यसमा पनि विभिन्न बाधा अवरोध कायम गरिने हुँदा किसानको बिचल्ली हुने किसानको गुनासो छ । हाल खाद्य व्यवस्था कार्यालयमा रहेका ३ गोदाममध्ये एक गोदाममा पुरानो चामल छ ।

थप समाचार

बाँकेमा २५ हजार क्विन्टल धान खरिद गरिदैं