एसपी सरुवाः ‘मालदार ठाउँ’ पीएसओको कब्जामा


एसपी सरुवाः ‘मालदार ठाउँ’ पीएसओको कब्जामा

नेपालगन्ज ६ पुष : प्रहरी प्रधान कार्यालयले आईतबार निकालेको प्रहरी उपरीक्षक (एसपी)को काज सरुवामा नेताका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) कै बोलवाला देखिएको छ ।

सोमबार २३ एसपीको काज सरुवा निकाल्दा ८ जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका थिए । ती ८ जिल्लाका इञ्चार्ज पाउनेहरु अधिकांश शक्तिकेन्द्र निकट रहेका देखिएका छन् । अझ आकर्षक मानिने जिल्लाहरुमा वर्तमानदेखि पूर्व प्रधानमन्त्रीका पीएसओहरु हाबी भएको देखिएको छ।

एसपीका लागि सबैभन्दा आकर्षक मानिने जिल्लामध्ये तराईको पर्सा हो । भारतसँगको मुख्य सीमानाका रहेको पर्सा ‘आर्थिक कमाइ’का हिसाबले निकै आकर्षक मानिन्छ । आकर्षक मानिने पर्साको इञ्चार्ज प्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वपीएसओ कोमल शाहले पाएका छन् । प्रधानमन्त्री निकट रहेका शाह बालुवाटारकै रुचिमा पर्सा पुगेका हुन् ।

यसअघि डीएसपीबाट एसपीमा बढुवा हुँदा पनि शाहले छलाङ मारेका थिए । गत असारमा प्रहरी प्रधान कार्यालयले ३६ जना डीएसपीलाई एसपीमा बढुवा गरेका थियो । विभिन्न ३ मितिमा डीएसपी बनेकाहरु आफ्नो ब्याचको पहिलो नम्बरमा हुँदा समेत छुट्दा उनै कोमल शाहले भने छलाङ मारेका थिए । डीएसपीसम्म २५ नम्बरमा रहेका शाह एसपी बढुवामा छलाङ मार्दै आफ्नो ब्याचमा दोस्रो नम्बरमा आएका थिए । त्यतिबेला उनी देवाकै पीएसओको रुपमा कार्यरत थिए । अहिले फेरि सरुवामा उनै शाह हाबी भएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

मध्य तराईको अर्को जिल्ला सर्लाहीको इञ्चार्ज पाउने नरेशराज सुवेदी पनि नेताकै पीएसओ भइसकेका व्यक्ति हुन् । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) का पीएसओ सुवेदी शक्तिकेन्द्रकै ‘पावर’मा सर्लाही पुगेका हुन् । यसअघि उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम शाखा महाराजगञ्जमा कार्यरत थिए ।

शक्तिकेन्द्रकै रोजाइमा तराईको अर्को आकर्षक जिल्लाको प्रमुख बनेका व्यक्ति हुन् एसपी विश्वराज खड्का । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, सानोगौचरमा रहेका खड्कालाई धुनषाको प्रहरी प्रमुख बनाएर पठाइएको छ । यसअघि उनले दरबारमार्ग वृत्त प्रमुखको जिम्मेवारी पाएका थिए ।

पूर्वगृहमन्त्री खुमबहादुर खड्काका भतिजा समेत रहेका विश्वराज काँग्रेसका नेताहरुसँग राम्रो हिमचिम भएकै कारण विवादित हुँदा पनि पटक–पटक इञ्चार्ज पाइरहने अफिसर हुन् ।

यसअघि महानगरीय प्रहरी वृत्त बालाजु र इलाका प्रहरी कार्यालय गजुरीमा रहँदा प्रहरी आचरण विपरीत काम गरको भन्दै प्रहरी प्रधान कार्यालयले खड्काको जिम्मेवारी खोसेको थियो ।

ललितपुर परिसरमा कार्यरत रहँदा त १ लाख रुपैयाँ घुसकाण्डमा मुछिएपछि उनी कारबाहीमै परेका थिए । राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएका अधिकृत हुन् खड्का ।

अर्को आकर्षक जिल्ला बाँकेको कमाण्ड सम्हाल्ने अर्का पीएसओ हुन् सन्तोषसिंह राठौर । उनी प्रचण्डकै पूर्व पीएसओ हुन् । शक्तिकेन्द्रकै आशीर्वादका कारणलाई उनलाई बाँकेको प्रहरी प्रमुख बनाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण तथा योजना विकास शाखामा दरबन्दी रहेर केन्द्रीय विशेष कार्यदलमा रहेका राठौर खुमलटारको पहुँचमा आकर्षक मानिने पश्चित तराईको जिल्ला बाँकेको इञ्चार्ज भएका हुन् ।

यसअघि पनि राठौरले आकर्षक मानिने प्रहरी वृत्त सोह्रखुट्टेको इञ्चार्ज भएका थिए । राठौर यसअघि सर्लाही जिल्लाको इञ्चार्ज समेत भइसकेका व्यक्ति हुन् । शक्तिकेन्द्रको पहुँचमा आकर्षक मानिने ठाउँको इञ्चार्ज पाउँदै आएका राठौर सर्लाहीमा हुँदा विवादित बनेका थिए । २०७८ को दशैंमा एसपी राठौरसँगै सर्लाहीका सीडीओ, सशस्त्रका सर्लाही प्रमुखसहितको टोली सार्वजनिक स्थलमा बसेर तास खेलेको भिडिओ सार्वजनिक भएको थियो । उक्त विवादपछि उनी मधेस प्रदेश प्रहरी कार्यालयमा तानिएका थिए ।

त्यसैगरी कैलालीको इञ्चार्जमा देबेन्द्रबहादुर पाल, सिन्धुलीको इञ्चार्जमा राजकुमार सिलवाल, सुर्खेतको इञ्चार्जमा योगेन्द्रसिंह थापा र झापाको इञ्चार्जको दुर्गाराग रेग्मीले पाएका छन् ।

एसपी श्याककृष्ण अधिकारी र योगन्द्रसिंह थापाको भने इञ्चार्ज–टु–इञ्चार्ज सरुवा भएको छ । बाँकेको एसपी भएर काम गरेका अधिकारीलाई त्यहाँबाट अर्को इञ्चार्ज राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल पठाइएको छ ।

अधिकारीभन्दा अघिसम्म राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको इञ्चार्ज रहेका योगेन्द्रसिंह थापाले सुर्खेतको इञ्चार्ज पाएका हुन् । इञ्चार्ज–टु–इञ्चार्ज सुरुवा नगर्ने नीति विपरीत उनीहरुको भने इञ्चार्ज–टु–इञ्चार्ज सरुवा भएको छ । -नेपाललाईभबाट