खजुरा ७ पुष : अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणको थालनि गरिएकोछ ।
बाँकेको खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बनाउन लागेको हो ।
खजुरा गाउँपालिका वडा नम्बर–२ गौरीनगरमा उक्त भवन बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए । उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाले उक्त भवनको शिलान्यास समेत गरेकोछ । गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले एक कार्यक्रमकाबीच अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने उद्देश्यले उक्त भवन निर्माणका लागि शिलान्यास गरेका हुन् ।
गाउँपालिका अध्यक्ष विककाले भने, ‘पालिकाभित्र रहेका बाबु, आमा नभएका बालबालिकालाई संरक्षणसंगै उनीहरुको शिक्षादीक्षाको नीति अघि सारेको छ, सोहीअन्तर्गत नै यहाँ भवन बनाउन थालिएको हो ।’
अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले स्याहार गर्ने र पढाउने भएपछि हालसम्म १८ बालबालिका सम्पर्कमा आइसकेको गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले जानकारी दिए ।
उनका अनुसार पालिकाभित्र ५० बालबालिका अभिभावकविहीन भएको हुनसक्ने आँकलन गरिएको छ ।