‘सन्त नेता’ भट्टराईको ब्यक्तित्वमाथि चर्चा


‘सन्त नेता’ भट्टराईको ब्यक्तित्वमाथि चर्चा

नेपालगन्ज ८ पुष : नेपाली काँग्रेसका नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईको ब्यक्तित्वमाथि नेपालगन्जमा चर्चा गरिएको छ ।

स्वर्गीय भट्टराईको ९८औं जन्मजयन्तीका अवसरमा नेपाली काँग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको विचार गोष्ठीमा बक्ताहरुले काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री भट्टराईले नेपाली राजनीतिमा पुर्याएको योगदान र उनको अनुकरणीय ब्यक्तित्वमाथि चर्चा गरेका थिए ।

स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताको पहिचान बनाएका भट्टराईले देखाएको वैचारिक स्पष्ट अडान, सैद्धान्तिक निष्ठा, नैतिकता र त्यागको मार्गदर्शनलाई अंगाल्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बक्ताहरुको भनाई छ ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पूर्व जिल्ला सभापति एवम् राष्ट्रियसभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति कृष्णमान श्रेष्ठ, लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, लुम्बिनी प्रदेशसभा सदस्य सुशीला बादी नेपाली, क्षेत्र नम्बर–२ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता लगायतले बोलेका थिए ।

पार्टी सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापति गोपालप्रसाद अधिकारीले ब्यक्त गरेका थिए । भट्टराईको जन्मजयन्तीका अवसरमा जिल्ला कार्यसमितिले जिल्लाका ८१ वटै वडालाई, टोल समितिलाई समेत सक्रिय बनाई शुक्रबार विहान सरसफाई कार्यक्रम गर्न निर्देशन समेत दिएको थियो ।

‘सन्त नेता’ को पहिचान बनाएका स्वर्गीय भट्टराई प्रजातन्त्रप्रतिको निष्ठाबाट टसको मस नभई अनुपम उदाहरण बन्न पुगेका थोरै नेताहरु मध्येका एक हुन् । उनी दुई पटक प्रधानमन्त्री बनेपनि बेदाग रहे ।

२०४६ सालको जनआन्दोलनपछि गठित अन्तरिम सरकारका शक्तिशाली प्रधानमन्त्री रहँदारहँदै काठमाण्डौंबाट चुनाव हारेपछि उनले एउटा ट्याङ्का, सुराही र छाता बोकेर बालुवाटार छाडेको धेरैले अझै सम्झन्छन् ।