तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यस्तो छ जीवनी


तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको यस्तो छ जीवनी

नेपालगन्ज ११ पुष : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्री भएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी प्रभु साह लगायत सात पार्टीका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

प्रचण्ड पहिले पटक २०६४ सालको पहिलो संविधान सभा निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए ।

तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटुवाल काण्डमा प्रचण्डले नौ महिना पुग्दा नपुग्दै राजीनामा दिन बाध्य भए । वि.सं. २०७२ साल असोज ३ गते नेपालको संविधान घोषणा भएपछि प्रचण्ड दोस्रो कार्यकाल प्रधानमन्त्री हुन सफल भएका थिए । २०७३ साल साउन १९ गतेदेखि २०७४ साल जेठ २३ गते झण्डै १० महिना प्रधानमन्त्री हुने अवसर पाएका थिए । पहिलो संविधान सभा चुनावमा रोल्पा २ र काठमाडौँ १० बाट प्रत्यक्ष निर्वाचित हुन सफल भए । दोस्रो संविधान सभा चुनावमा काठमाडौँ १० बाट पराजित भए भने सिराहा–५ बाट निर्वाचित हुन सफल भए । २०७४ सालको चुनावमा चितवन ३ बाट र यस निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका हुन् ।

यस्तो छ प्रचण्डको जीवनी

Kids Festival 2022
kanti aarogya hospital

प्रचण्डको जन्म २०११ मंसिर २६ गते कास्की जिल्लाको तत्कालीन ढिकुरपोखरी गाविस–२ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमै लिएका थिए । २०२६ चितवनको नारायणी विद्या मन्दिर माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थिए । उच्च शिक्षा काठमाडौँको पाटन बहुमुखी क्याम्पसबाट आईएससी पुरा गरेपछि चितवनको रामपुर कृषि क्याम्पसबाट बीएस्सी पुरा गरे । प्रचण्डले एम.पी.ए.सम्मको अध्ययन पुरा गरेका छन् । प्रचण्डले नारायणी विद्या मन्दिर, मा.वि.नवलपरासी, भीमोदय मा.वि आरुघाट अध्यापन गराएका थिए । वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सरेका थिए । २०२६ वैशाखमा सीता पौडेलसँग विवाह गरेका प्रचण्डका तीन छोरी र एक छोरा छन् । हाल छोरा प्रकाश र जेठी छोरी ज्ञानुको निधन भइसकेको छ ।

प्रचण्डले २०२८ सालमा नेकपाको पुष्पलाल समूहबाट पार्टीको सदस्यता लिएका थिए । २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता कार्यकर्ता भएका थिए । २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुन सफल भए । २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य, २०४२ सालमा पोलिटब्युरो सदस्य र २०४६ सालमा महामन्त्री हुन सफल भए । २०४८ सालमा विभिन्न कम्युनिस्ट घटकहरुवीच एकता गरेर नेकपा (एकताकेन्द्र)को महामन्त्री हुन सफल भए ।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनबाट पार्टीको नाम फेरेर नेकपा माओवादी बनाइयो । २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड माओवादी अध्यक्ष हुन सफल भए ।

२०५८ साल जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर भएका प्रचण्ड २०६२÷२०६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियामा प्रवेश गरेका थिए । २०६९ सालको सातौँ महाधिवेशनबाट प्रचण्ड पुनः अध्यक्षमा निर्वाचित भएका थिए । प्रचण्डको नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), संस्कृति, कला र सौन्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरू लगायतका पुस्तक प्रकाशित छन् । २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका थिए ।

थप समाचार

एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री