स्मार्ट लाइसेन्छ छाप्न मास प्रिन्टर आइपुगेन


स्मार्ट लाइसेन्छ छाप्न मास प्रिन्टर आइपुगेन

काठमाडौं :  यातायात व्यवस्था विभागले ल्याउने भनेको मास प्रिन्टर आइनपुग्दा स्मार्ट लाइसेन्स प्रिन्टमा ढिलाइ भएको छ । विभागले १ महिनाअघि नै टेन्डर आह्वान गरे पनि हालसम्म मास प्रिन्टर आइपुगेको छैन ।  विभागले हाल ७ वटा प्रिन्टरले स्मार्ट लाइसेन्स प्रिन्ट गरिरहेको विभागका निर्देशक तथा सुचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

मास प्रिन्टरका लागि बोलपत्र आह्वान गरिएकोमा भारतका २ र फ्रान्सको एक कम्पनी इच्छुक देखिएको उपाध्ययले जानकारी दिए ।  “भारतका २ र फ्रान्सको एक कम्पनी मास प्रिन्टर उपलब्ध गराउन इच्छुक देखिएका छन्,” उपाध्ययले बाह्रखरीसँग भने, “यसका लागि हामी खरिद प्रक्रियामा छौं । मास प्रिन्टर कहिले आइपुग्छ भन्ने यकिन छैन ।”


हाल स्मार्ट लाइसेन्सको दैनिक माग १० हजार रहेको छ ।  जसमा विभागले दैनिक ३ हजार लाइसेन्स प्रिन्ट गर्दै आएको छ ।  विभागसँग रहेका ७ वटा प्रिन्टरले दैनिक यी संख्याका लाइसेन्स प्रिन्ट गर्दै आएको हो । मङ्सिर अन्तिम साताबाट यातायात व्यवस्था कार्यालयहरु प्रदेश सरकार मातहत गए पनि स्मार्ट लाइसेन्स सहज हुन सकेको छैन । 

प्रशासनिक काम प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुले गरे पनि स्मार्ट लाइसेन्स प्रिन्ट गरेका छैनन् ।  आवश्यक प्रिन्टर र जनशक्ति नहुँदा प्रदेश मातहतका कार्यालयहरुले स्मार्ट लाइसेन्स प्रिन्ट गर्न नसकेका हुन् ।  हाल काठमाडौंस्थित विभागले दैनिक प्रिन्ट गर्ने उक्त संख्यका स्मार्ट लाइसेन्स हुलाकमार्फत प्रदेशस्थित यातायात व्यवस्था कार्यालयमा पठाउँदै आएको छ ।

स्मार्ट लाइसेन्सलाई विभागले सहज बनाउन नसक्दा नक्कली स्मार्ट लाइसेन्स प्रिन्टको कारोबारसमेत गरिने भेटिएको छ ।  “हामीले चेकजाँचका क्रममा हालसम्म ५ थान नक्कली स्मार्ट लाइसेन्स फेला पारेका छौं,” महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, एसएसपी बसन्तकुमार पन्तले भने । 

यस्तै स्मार्ट लाइसेन्स चेकजाँच गर्ने उपकरण ट्राफिक प्रहरीसँग नहुँदा अन्दाजका भरमा चेकजाँज गरिरहनु परेको ट्राफिक प्रहरीहरु बताउँछन् ।“मास प्रिन्टर आएपछि दैनिक मागअनुसार स्मार्ट लाइसेन्स प्रिन्ट हुनेछ,” निर्देशक उपाध्ययले भने, “मागअनुसार प्रिन्ट भएपछि हालको समस्या समाधान हुनेछ, साथै स्मार्ट लाइसेन्स चेकजाँचका लागि ट्राफिक प्रहरीलाई डिभाइस पनि उपलब्ध गराइने छ ।”
मास प्रिन्टरले प्रतिघण्टा ३ देखि ५ हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने विभागको दाबी छ ।