राप्तीसोनारीमा ‘दिदी–बहिनीको’ माघी मिलन


राप्तीसोनारीमा ‘दिदी–बहिनीको’ माघी मिलन

नरैनापुर (बाँके) २७ पुष : बाँकेको राप्तीसोनारी गाउँपालिकामा माघि मिलन कार्यक्रम गरिएकोछ ।

राप्तीसोनारी गाँउपालिका वडा नम्बर–४ मा रहेको दिदी–बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा माघी मिलन कार्यक्रम गरिएको हो ।

माघि मिलनका अवसरमा थारु समुदायले विभिन्न भेषभुषा तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा बोल्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले माघि थारु समुदायको महान पर्व भएपनि यसले अन्य जाती समुदायमा समेत महत्व पाउदैँ गएकाले एकता र मेलमिलापको पर्वका रुपमा सबैले मनाउनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नरैनापुरका अध्यक्ष शाहले थारु जातीको उत्थानका लागि आफुले आफ्नो स्तरबाट सक्दो प्रयास गर्दैआएको बताउँदै थारु समुदाय अनेक विचारमा विभाजित हुँदा खास मुद्दा ओझेलमा परेको बताए । उनले थारुका सवाल र मुद्दामा बिभाजित नभई एकताबद्ध भएर अगाडी बढ्न सके समस्या समाधान हुने विश्वास ब्यक्त गरे ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रमका विशिष्ट अतिथि राप्तीसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिंह थारुले थारू समुदायको मुक्ती र सही नेतृत्वको विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने धारणा राखिन ।

उनले आफ्नो अधिकार सँगसँगै पहिचान र अस्तित्व बचाउन थारु अगुवा निरन्तर राजनीतिक सङ्घर्षमा भाग लिन आह्वान गरिन् ।

कार्यक्रममा नरैनापुर गाँउपालिका अध्यक्ष शाह, नरैनापुरका प्रेस सल्लाहकार आलम खान र बेसका केन्द्रिय सदस्य संगिता थारुलाई सम्मान गरिएको थियो ।

दिदी–बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा भएको कार्यक्रमको समन्वय राप्तीसोनारी गाँउपालिकाले गरेको थियो भने आर्थिक सहयोग नरैनापुर गाँउपालिकाले गरेको सहकारीका अध्यक्ष संजिता थारुले जानकारी दिइन् ।

सहकारी संस्थाका अध्यक्ष संजिता थारुको अध्यक्षतामा भएको कार्यक्रमा राप्तीसोनारी गाँउपालिकाको वडा नम्बर–६ र ७ का अध्यक्षद्वय लबराज खरेल र रामलखन थारु, बेसका केन्द्रिय सदस्य संगिता थारु, आलम खान लगायतले शुभकामना व्यक्त गरेका थिए ।