कोहलपुर नगरपालिकाको १२ औं नगरसभा सुरु


कोहलपुर नगरपालिकाको १२ औं नगरसभा सुरु

कोहलपुर २९ पुष : कोहलपुर नगरपालिकाको १२ औं नगरसभा आजदेखि सुरु भएको छ । उक्त नगरसभामा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले अर्को बैठक बस्नुपूर्व सबै सभाषद समक्ष पुग्ने गरी चार वटा प्रस्ताव प्रस्तुत गरेका थिए ।

कोहलपुर नगरपालिकामा साविक स्थानीय निकायबाट समायोजन भएका स्थायी कर्मचारीहरुलाई प्रोत्साहन सुविधा उपलब्ध गराउने सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक २०७९, कोहलपुर बांगमय प्रतिष्ठान विद्येयक २०७९, बजेट, योजना तथा कार्यक्रम संशोधन र नगरपालिकाको संगठन संरचनामा हेरफेर लगायतका प्रस्ताव नगरसभाका सभाध्यक्ष एवम् नगर प्रमुख आचार्यले प्रस्तुत गरेका हुन् ।

ती प्रस्ताव उपर आगामी माघ १३ गते बस्ने नगरसभाको र्को बैठकमा दफावर छलफल हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । प्रस्ताव प्रस्तुत गर्नु अघि सार्वजनिक महत्वको बिषयमा आधादर्जन बढी नगरसभा सदस्यहरुले आआफ्नो धारणा राखेका थिए ।

सदस्यहरु लालबहादुर राना, गोविन्द वाग्ले, तारादेवी सिंह, कविराम पुलामी, इश्वरी विश्वकर्मा, माधव रिजाल र भीम पौडेलले सार्वजनिक महत्वको बिषयमा आआफ्नो धारणा राख्दै नगरपालिकाको समग्र विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनीहरुले कोहलपुर नगरपालिकाको विकासका लागि योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिए । ढल, नाला तथा सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनीहरुले त्यसको गुणस्तरीयताको सवालमा अनुगमन संयन्त्रलाई प्रभावकारी गराइनुपर्ने बताए ।

डिजिटल कोहलपुरको अवधारणालाई साकार पार्नेदेखि शिक्षा र स्वास्थ्यमा नमुना पालिका बनाउने सवालमा सबैको सहयोग, सहकार्य र समन्वय आवश्यक रहेकोमा नगरसभाका सदस्यहरुको जोड थियो । त्यसक्रममा नगरसभा सदस्यहरुले उठाएका केही सवालहरुको बारेमा जवाफ दिँदै नगर प्रमुख आचार्यले नगरपालिकाको नीतिगत सुधारका सवालमा सकारात्मक अभ्यासहरुको थालनी गरिएको जानकारी दिए ।

ठेक्का लिने तर, सम्झौता अनुसार काम नगर्ने व्यवसायीहरुलाई खरिद ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याइएको जानकारी दिए । त्यस्तै नगर उपप्रमुख संगीता सुवेदीले कोहलपुर नगरपालिकालाई व्यवस्थित नगरपालिका बनाउने सवालमा सकारात्मक कामहरुको थालनी भइसकेको बताए ।

नगरपालिकाले नगरभित्र भइरहेका कामहरुको प्रभावकारी अनुगमन र कमजोरी भएका स्थानमा सुधार्ने काम भइरहेको बताए । नगरसभाको अर्को बैठक माघ १३ गतेका लागि तोकिएको छ ।