नरैनापुरमा ईलाका प्रशासन : माघ महिनाभित्रै पुनःस्थापना गर्ने तयारी


नरैनापुरमा ईलाका प्रशासन : माघ महिनाभित्रै पुनःस्थापना गर्ने तयारी

नरैनापुर (बाँके) ३ माघ : सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको नरैनापुर ईलाका प्रशासन कार्यालय पुनःस्थापना हुने भएको छ ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको बिशेष पहलमा पुनःस्थापना हुन लागेको ईलाका प्रशासन कार्यालयको भवनको मन्त्री कृष्ण केसी ‘नमूना’, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री, बाँके प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौर लगायत सुरक्षा अधिकारीहरुको संयुक्त टोलीले सोमबार निरीक्षण गरेको छ ।

लुम्बिनी प्रदेशका मन्त्री नमूनाले दुर्गममा ईलाका प्रशासन कार्यालय स्थापना गर्न प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक भएकोले भाडामा लिएको भवनको मर्मत सम्पन्न भएपछि कार्यालय स्थापना हुने बताउँदै स्थानीयबासीलाई जिल्ला सदरमुकाम नेपालगन्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताईन् ।

नरैनापुर गाँउपालिका अध्यक्ष ईश्तियाक अहमद शाहले ईलाका प्रशासन कार्यालय नरैनापुर–४ मा सञ्चालनका लागि ५ कोठे भवन भाडामा लिने भएपछि प्रमुख जिल्ला अधिकारी खत्री, बाँकेका प्रहरी उपरीक्षक राठौर लगायतको टोलीलाई बोलाएर भवनको निरीक्षण गराएको बताए ।

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

उनले भने,–‘संघीयताको मर्म र भावनाअनुरूप एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीति भए पनि गाउँपालिकामा रहने गरी ईलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापना नहुँदा जनताले सास्ती व्यहोर्नुपरेको बताउँदै ईलाका प्रशासन स्थापना भएपछि जनतालाई ठूलो राहत हुनेछ ।’

बाँकेका प्रमुख जिल्ला अकिकारी सूर्यबहादुर खत्रीले नरैनापुरमा प्रशासन कार्यालय राख्नका लागि उपयुक्त भवन गाँउपालिकाले व्यवस्था गरेकोले माघ महिना भित्रै सञ्चालनमा आउने बताए । भवनको रंगरोगन गर्न घरधनीलाई निर्देशन दिएको बताउँदै भवनको काम सम्पन्न भए लगत्तै कर्मचारीहरु सम्बन्धित ठाउँबाट नै सेवा प्रवाह गरिने उनले बताए ।

केहीदिन अघि नरैनापुर गाँउपालिकाको कार्यपालिका बैठकले ईलाका प्रशासन पुनःस्थापना माग गर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीलाई अध्यक्ष शाहले बुझाएका थिए ।

ईलाका प्रशासन कार्यालय नरैनापुर अहिले नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको छ । नागरिकता, प्रशासनिक लगायत सेवा लिन स्थानीयबासी करिब ४५ किलोमिटरभन्दा बढी दूरी पार गरेर दिनहुँ नेपालगन्ज आउने गर्छन् ।

मन्त्री नमूना, अध्यक्ष शाह, प्रमुख जिल्ला अधिकारी खत्री, प्रहरी उपरीक्षक(एसपी) राठौर, सशस्त्र प्रहरी उपरीक्षक, अनुसन्धान विभागका बाँके प्रमुख, नरैनापुर–२ का वडा अध्यक्ष लगायतको टोलीले ईलाका प्रशासनको भवनको निरीक्षण गरेको थियो ।