विमान दुर्घटनामा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली


विमान दुर्घटनामा ज्यान गुमाउनेलाई श्रद्धाञ्जली

नेपालगन्ज ४ माघ : यति एयरलाइनसको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा नेपालगन्जमा दीप प्रज्वलनसंगै श्रद्धाञ्जली सभा गरिएकोछ ।

गत आईतबार(माघ १ गते) काठमाण्डौंदेखि पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर विमान पोखरा विमान स्थल नजिकै सेती नदीको खोँचमा दुर्घटना ग्रस्त भएको थियो । उक्त दुर्घटनामा चालक दलका ४ जना र ६८ जना यात्रुसहित ७२ जनाको मृत्यु भएको थियो ।

विमान दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा बुधबार नेपालगन्जको धम्बोझी चोकमा बाँकेका पर्यटन व्यवसायीहरुले दीप प्रज्वलनसंगै श्रद्धाञ्जली ब्यक्त गरेका थिए । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राल्स एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले गरेको कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न एयरलाइन्सका कर्मचारी, उद्योगी, व्यवसायी र पत्रकारहरुको सहभागिता रहेको थियो ।

पोखरामा भएको उक्त विमान दुर्घटना नेपाली पर्यटन व्यवसायीहरुको लागि एउटा कालो दिनको रुपमा रहेको बताउँदै मृत्युहरुको आत्ममा चीर शान्तिको कामना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नाट्टा बाँके अध्यक्ष श्रीराम सिग्देलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

नाट्टाले देशभर आफ्नो शाखा रहेको जिल्लामा बुधबार दीप प्रज्वलन र शोक सभा गरेको छ । नेपालगन्जमा भएको कार्यक्रममा आउने सम्पूर्णलाई अध्यक्ष सिग्देलले धन्यवाद दिएका थिए ।

प्रर्यटन प्रवद्र्धन मञ्च बाँके संयोजक कृष्णप्रसाद श्रेष्ठले पोखरामा भएको विमान दुर्घटनाले सम्पुर्ण नेपालीलाई दुःखी बनाएको भन्दै नेपालमा हवाई सुरक्षातर्फ सरकारले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।

सोक्रममा मृतक ७२ जनाप्रति श्रद्धाञ्जली दिदैं ७२ थान मैनबत्ती बालि एक मिनेट मौन धारण गरि सहभागिहरुले शोक ब्यक्त गरेका थिए ।