दादुरा प्रभावित बाँकेमा स्वास्थ्यमन्त्रीको टोलीद्वारा अनुगमन


दादुरा प्रभावित बाँकेमा स्वास्थ्यमन्त्रीको टोलीद्वारा अनुगमन

नेपालगन्ज ८ माघ : दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसहितको टोलीले बाँकेमा स्थलगत अनुगमन गरेकोछ । दादुरा फैलिएको बाँकेको स्थलगत अनुगमन लिन स्वास्थ्यमन्त्री गिरीसहितको टोली हिजो शनिबार बेलुका मात्रै बाँकेको नेपालगन्ज आइपुगेको हो ।

मन्त्री गिरीको टोलीले आईतबार नेपालगन्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उनले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताए ।

उनले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गरे । मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गरे ।

मन्त्रीसँगै सांसदहरु डाक्टर धवलशमशेर राणा, सूर्य ढकाल र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोख्रेल, महानिर्देशक डाक्टर दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखाप्रमुख डाक्टर कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डाक्टर विनोद गिरी, डेपुटी डाइरेक्टर डाक्टर रोशनलाल चौधरी तथा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेका पाँच स्थानीय तहमा दुई सय ६० जना दादुराबाट प्रभावित भएका छन् । यसमध्ये सबैभन्दा बढी नेपालगन्जमा दुई सय तीनजना रहेका छन् । प्रभावित भएकामध्ये एक सय ९६ निको भएको तथा ६३ जना उपचार गराइरहेका र एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ६८ हजार दुई सय २१ जनाले खोप लगाएका छन् । अझै पनि ४८ हजार आठ सय २२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । मन्त्री गिरीले नेपालगन्जस्थित भेरी अस्पतालको समेत निरीक्षण गरेका छन् । मन्त्री गिरीले भेरी अस्पतालमा थपिएको षयलासिस मेसिनको उद्घाटन गरेका छन् । भेरीमा चार वटा मेसिन रहेकोमा ६ वटा थपिएको छ । अहिले हप्तामा ५४ जनाले नियमित डायलासिस सेवा लिइरहेकाछन् ।

भेरी अस्पतालका मेसु डाक्टर बद्री चापागार्इँले अस्पतालको फोहोर ब्यवस्थापनदेखि समग्रम अस्पतालको अवस्थाका बारेमा मन्त्री गिरीलाई जानकारी गराएका थिए । सोक्रममा उनले अस्पतालको फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी लिएका छन् ।

यस्तै मन्त्री गिरीको टोलीले आईतबार दिउँसो नै बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको समेत निरीक्षण गरेको छ । सोक्रममा क्यान्सर अस्पतालको आइसीयू कक्षको उद्घाटन समेत गरेकाछन् ।

खजुरा स्थित क्यान्सर अस्पतालमा हालसालै ल्याइएको लिन्याक मेसिन पनि आज नै जडान गरिएकोछ ।