राप्तीसोनारीको १२औं हिउँदे गाउँसभा सम्पन्न


राप्तीसोनारीको १२औं हिउँदे गाउँसभा सम्पन्न

File Photo

नेपालगन्ज १० माघ : बाँकेको राप्तीसोनारी गाउँपालिकाको १२औं हिउँदे गाउँसभा आज सम्पन्न भएको छ । गत पुस २८ गते शुरु भएको गाउँसभा विभिन्न विधेयक पारित गर्दै सभा सर्वसम्मतले सम्पन्न भएको हो ।

गाउँपालिकाका विधायन समितिका संयोजक एवम् वडा नम्बर–७ का वडाअध्यक्ष राम लखन थारुले सभामा उक्त चार वटा विधेयक र दुई वटा नियमावली पेश गरेका थिए । सभामा पेश गरिएका विधेयकहरु सर्वसम्मत रुपमा पारित गरिएको हो ।

गाउँसभाले न्यायीक समितिले अपनाउनु पर्ने कार्यविधि विधेयक २०७९, स्थानीय शिक्षा ऐन २०७७ संशोधन, सामाजिक सुरक्षा कार्याक्रम, पालिकाको कृषि व्यवसायी प्रवद्र्धन विधेयक २०७९, सार्वजनिक खरिद नियमावली २०७९, कर्मचारी कल्याण कोष नियमावली २०७९, करार नविकरण सम्बन्धमा पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलको सभाध्यक्षतामा बसेको गाउँसभामा उपस्थित सबैले विधेयक पारितमा सहमति जनाएका थिए। साथै गाउँपालिकाको कार्यविधिप्रति सबै पालिका सदस्यमा एक रुपता रहेको अध्यक्ष पौडेलले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

सभामा ४० जनाको सहभागिता रहको थियो । सभामा पेस भएको विधेयक माथि ब्यापक छलफल भएर विधेयकपारित गरिएको पौडेलले बताए । ‘पालिकाको कामकारबाही प्रति सबैजना सकारात्मक हुनुहुन्छ । आजको सभामा पनि पेस भएका विधेयक माथि ब्यापक छलफल र टिप्पणी भएर पास भएको हो,’ पौडेलले भने ।

गत पुष २८ गते गाउँ सभामा प्रस्तुत विधेयक र ऐनलाई विस्तृत छलफलका लागि वडा कार्यालयमा पठाइएको थियो । प्रस्तुत भएका विधेयक र ऐनलाई पालिकामा बनाइएका विषयगत समिति, विधान समिति हुँदै कार्यपालिकाको बोर्ड बैठकमा छलफल गरेर गाउँसभाबाट पास गरिएको छ ।

त्यस्तै सभामा नियमित बेरुजु सहितको लेखा समितिको प्रतिवेदन भने पारित नभएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गौरव कुमार लामिछानेले बताए । लामिछानेका अनुसार लेखा समितिको प्रतिवेदन अध्ययनको लागि राखिएको छ । अर्को कार्यापालिकाको बैठकले त्यसलाई पारित गर्ने लामिछानेले बताए ।