सरकारलाई समर्थन गरेपनि सशक्त प्रतिपक्षको भूमिकामा काँग्रेस रहन्छ : काँग्रेस प्रवक्ता डाक्टर महत


सरकारलाई समर्थन गरेपनि सशक्त प्रतिपक्षको भूमिकामा काँग्रेस रहन्छ : काँग्रेस प्रवक्ता डाक्टर महत

नेपालगन्ज १२ माघ : राष्ट्रिय सहमतिका लागि काँग्रेसले सरकारलाई समर्थन गरेको नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले प्रष्ट्याएकाछन् । नेपाल प्रेस युनियन, बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

प्रवक्ता डाक्टर महतले अगाडी भने–‘प्रधानमन्त्रीको आग्रहमा राष्ट्रिय सहमतिका लागि काँग्रेसले पनि सरकारलाई विश्वासको मत दिएको हो तर, काँग्रेस सरकारमा जान होइन । सभामुख, राष्ट्रपति आदि निर्वाचनमा राष्ट्रिय सहमति होस् भनेर नै काँग्रेसले सरकारको समर्थन गरेको हो ।’

‘संसदमा गुण र दोषका आधारमा हामीले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ, सरकारलाई समर्थन गरे पनि हामीहरू सरकारमा जाने भनेको होइन’, प्रवक्ता डाक्टर महतले बताए ।

नेपाली काँग्रेसका नेता डाक्टर महतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान रक्षाका लागि म उभिन्छु र समझदारी निर्माण गर्छु भन्ने मनसाय राखेको र समझदारी विकास गर्ने भन्नुभएकाले उहाँको त्यो प्रतिबद्धताको परीक्षण गर्न पनि काँग्रेसले सरकारलाई समर्थन गरेको स्पष्ट पारे ।

Kids Festival 2022
kanti aarogya hospital

संविधान रक्षाको जिम्मेवारी राष्ट्रपतिको पनि भएकाले त्यसमा काँग्रेसको दाबी रहेको उल्लेख गर्दै उनले पार्टीले विगतमा प्रधानमन्त्रीमा नेतृत्व दाबी गर्दा गठबन्धन विभाजन हुने उद्देश्य नरहेको र केही राजनीतिक मूल्याङ्कनमा त्रुटि भएकाले गठबन्धन भत्केको स्मरण गरे ।

प्रवक्ता महतले राष्ट्रपतिमा काँग्रेसको दाबी रहेको तर, काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपतिको उम्मेदवार नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेता ईच्छुक रहेकाले उपयुक्त समयमा पार्टीले निर्णय गर्ने पनि बताए ।

उनले राष्ट्रपति चयन दलिय स्वार्थ भन्दामाथि गएर चुनिनुपर्ने तर्क राखे । समग्र राष्ट्रको हितमा उभिने व्यक्तिनै राष्ट्रपति हुनुपर्ने कुरामा जोड दिदैँ काँग्रेस सधै संविधानको रक्षाको पक्षमा रहेको उनले औल्याए ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभाध्यक्षतामा भएको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले स्वागत भनाई राखेका थिए भने सचिव विजय मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।

पत्रकार भेटघाटमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पूर्वमन्त्री एवम बाँकेका पूर्व पाटी सभापति गजेन्द्र हमाल, लुम्बिनी प्रदेशका निर्वतमान मन्त्री सुरेन्द्र हमाल, काँग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी लगायत दुई दर्जन पत्रकार, काँग्रेस नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।