पार्टीमा विभाजित मानसिकता हाबी भयो, समानुपातिकतर्फ पनि अन्तर्घात भयो : डाक्टर महत


पार्टीमा विभाजित मानसिकता हाबी भयो, समानुपातिकतर्फ पनि अन्तर्घात भयो : डाक्टर महत

नेपालगन्ज १२ माघ : नेपाली काँग्रेसका प्रबक्ता डाक्टर प्रकाशशरण महतले समानुपातिकतर्फ पनि अन्तर्घात गर्ने नयाँ रोग पार्टीमा भित्रिएको बताएका छन् ।

नेपाली काँग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् सम्बोधन कार्यक्रमलाई सम्बोधन गर्दै प्रबक्ता महतले प्रत्यक्षतर्फ हुँदै आएको अन्तर्घात यसपटक समानुपातिकमा पनि प्रवेश गरेको बताए ।

‘पार्टीलाई घात गरेर अन्यत्रै भोट हालिएको छ, आफ्नै साथीलाई स्विकार्न नसकेर अरु पार्टीका उम्मेदवारहरुलाई भोट हाल्ने काम पनि भएको छ’, महतले अगाडी भने–‘आफ्नै साथीलाई हामी स्विकार्न तयार छैनौं बरु अन्यत्र मतदान गरिरहेका छौं ।’

उनले पार्टीमा आग्रह पूर्वाग्रह तल्लो तहसम्म पुगेको बताउँदै विभाजित मानसिकता हाबी भएको टिप्पणी गरे । एकले अर्कालाई नस्विकार्ने खतरनाक संस्कार पार्टीभित्र मौलाएको उनको भनाई छ । काँग्रेस सशक्त प्रतिपक्षको भूमिकामै रहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान रक्षाका पक्षमा उभिने प्रतिबद्धता जनाएपछि तत्कालका लागि काँग्रेसले सरकारलाई समर्थन दिएको जिकिर गरे ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले टिकट वितरणमा उपयुक्त निर्णय लिन नसक्दा पार्टीले पराजय व्यहोरेको बताए । केन्द्रिय नेतृत्वले नेता कार्यकर्ताको उचित मूल्यांकन गर्ने परिपाटीको विकास गर्न नसक्दा समस्या बढेको उनको भनाई छ । पार्टीमा ईमान र अनुशासन कमजोर भएको गौडेलको टिप्पणी छ ।

कार्यक्रममा विभिन्न नेता कार्यकर्ताले राखेका जिज्ञासाको जवाफ प्रबक्ता महतले दिएका थिए । सभापति गौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति गोपालप्रसाद अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव सुधांशु कोइरालाले गरेका थिए ।