शहिद दिवसका अवसरमा काँग्रेसले आश्रममा खाना खुवायो


शहिद दिवसका अवसरमा काँग्रेसले आश्रममा खाना खुवायो

नेपालगन्ज १६ माघ : नेपाली काँग्रेस बाँकेले सामाजिक सेवाभावमा अग्रसरता बढाएको छ ।

सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको काँग्रेस बाँकेले राष्ट्रिय सहिद दिवसको अवसरमा वीर सहिदहरुको सम्झना गर्दै आज नेपालगन्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ ।

मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई विहानको खाना खुवाइएको हो । त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्र विन्दुमा राखेर काँग्रेस बाँकेले सेवाभावका साथ गरेको पूण्य काम प्रशंसनीय भएको बताए ।

उनले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले सञ्चालन गरेको आयुर्वेदिक अस्पतालमा मासिकरुपमा निःशुल्क उपचारसंगै औषधिको व्यवस्था मिलाउने उद्घोष समेत गरे ।

Kanti Aarogya Hospital Nepalgunj

सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर शहिद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भएपनि खाना खुवाउने कार्य गरिएको बताए ।

उनले बेसहारा नागरिकलाई खाना खुवाउन पाउँदा सन्तोष मिलेको बताए । उनले यो पटक काँग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।

मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली काँग्रेस बाँकेलाई धन्यवाद दिए ।

कार्यक्रममा पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ लगायतले सहिदहरुको स्मरण गर्दै बेसाहारा नागरिकलाई खाना खुवाउने जस्तो पूण्य काम अत्यन्त प्रशंसनीय भएको बताए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुधांशु कोइरालाले गरेका थिए ।