प्रचण्डलाई विश्वास गर्नु काँग्रेसलाई धोका भयो : सहमहामन्त्री राठौर


प्रचण्डलाई विश्वास गर्नु काँग्रेसलाई धोका भयो : सहमहामन्त्री राठौर

नेपालगन्ज १६ माघ : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास गर्नु काँग्रेसलाई धोका भएको बताएकाछन् । बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा सदस्यसमेत रहेका राठौरले सोमबार निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा यस्तो बताएका हुन् ।

गत मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्राप्त नतिजाको समिक्षा गर्दै उनले भने ‘देशको लार्जेस्ट पार्टी काँग्रेस हुँदा राष्ट्रपति र प्रधानमन्त्रीमा दावि गर्नु कुनै अपराध थिएन । तर, प्रधानमन्त्री नपाएर प्रचण्डजी गठबन्धन छाडेर भागे ।’

‘गठबन्धनको छलफलका क्रममा प्रचण्डजीले गठबन्धनको भरोसा तोड्छन भन्ने लागेको थिएन ।’ सहमहामन्त्री राठौरले अगाडी भने–‘सरकारको स्थिरताका लागि काँग्रेसले अहिले समर्थन गरेको हो । हिजोपनि हाम्रो(काँग्रेस) ले सरकार र संसदको स्थिरताका लागि समर्थन गरेको हो ।’

‘जहिले पनि आक्रमण हुने भनेको काँग्रेसमाथि नै हो । कम्युनिष्टले काम कम प्रचार बढि गर्छन् । देश विकास गर्ने भनेकै काँग्रेस हो । काँग्रेस बलियो भएन भने देशको विकास हुँदैन । देश र संविधान जोगाउने भनेकै काँग्रेस हो’ राठौरले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

राठौरले संगठनको कमजोरी र नेतृत्व तहमा भएका नेताहरुले काम नगरेका कारण कतिपय ठाउँमा पार्टीले चुनाव हार्नुपरेको बताए । ‘पार्टीको जिम्मेवार तहमा बसेर पार्टीलाई असहयोग गरेका कारण पनि हार भएको हामीले महसुुस गरेका छौं, भोलीका दिनमा यो कुराको छानविन हुन्छ, पार्टीको क्रियाशिल सदस्य भनेको नेता हो, पार्टीको क्रियाशिल सदस्य भएर पार्टीलाई सहयोग नगर्ने पार्टी विरोधी कुरा हो, यसले पार्टीलाई अगाडी बढाउन सक्दैन । संगठन बलियो बनाउनतर्फ लाग्नुहोस् ।’

पार्टीभित्र बसेर पार्टीलाई घात गर्नेलाई कारबाही नगर्ने हो भने पार्टी अगाडी बढ्न नसक्नेमा उनले जोड दिए । अनुशासन नभए घर नबन्ने र पार्टीभित्र अनुशासन, त्याग, तपस्या र बलिदान नभएमा पार्टी नबन्ने उनको बुझाई छ ।
काँग्रेस सहमहामन्त्री राठौरले जनताको माझमा पुगेर काम गर्न नेता, कार्यकर्तालाई समेत निर्देशन दिए । काँग्रेसले जनतालाई अधिकार, विकास र ब्यवस्था परिवर्तनको नेतृत्व गरेपनि त्यो कुरा जनता समक्ष पुर्याउन नसकिएको उनले बताए ।

क्रियाशिल सदस्य भनेकै नेता हुन्, क्रियाशिल सदस्यले दिनमा २ घण्टा पार्टीको गतिविधि लाग्नुपर्छ । वडा कमिटिको सके महिनामा दुई पटक नत्र एक पटक भएपनि बैठक बसेर स्थानीय समस्या र सवालका विषयमा छलफल गर्नुपर्ने राठौरले निर्देशन दिए ।

नेपाली काँग्रेस बैजनाथ गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा टिटिहिरियामा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रियालाई सम्बोधन गर्दै राठौरले भने, ‘ठालू बनेर बस्ने होइन । तपाईहरु जनताको घरमा जानुस्, रेस्पोन्स गर्नुस्, जनतालाई काम परेका बेला रेस्पोन्स गर्नुस् ।’

पार्टीका कार्यकर्ताभन्दा काँग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधीले बढी जिम्मेवार भएर काम गर्नुपर्ने उनले बताए ।

उनले अगाडी भने ‘जितेका मात्र होईन, हारेका उम्मेदवार पनि जनताको घर–घरमा जानुस्, चिया पिउनुस् । जनताका सवाल र समस्या समाधान गर्नेतर्फ लाग्नुस्, मलाई पनि वडा र टोलमा बोलाउनुस्, म आफै पनि पुग्नेछु, पार्टीलाई बनाऔं ।’

कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा हुमबहादुर सिंह, सरस्वती सुनार र काशीराम सुवेदी लगायतका कार्यकर्ताले राठौरसमक्ष जिज्ञासा राखेका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधि सभाका सांसद आशा बिक, नेपाली काँग्रेस क्षेत्र नम्बर– ३ का सभापति मोहम्म्द नक्की खाँ, प्रदेश सभा–३ (क) का सभापति केशव शाह, काँग्रेस बैजनाथ गाउँपालिका सभापति देवबहादुर केसी, प्रदेश सभा–३ (क)सचिव धिरेनसिंह ठकुरी, बैजनाथ गाउँपालिका वडा नम्बर– ८ का वडाअध्यक्ष भग्गन थारु, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, सचिव विजय मल्ल लगायत नेपाली काँग्रेस बैजनाथ गाउँपालिका वडा नम्बर ८ मा रहेका क्रियाशिल सदस्यहरुको सहभागिता रहेको थियो ।