कोहलपुर १७ माघ : बाँकेबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिबद्व रहेको बताएका छन् । कोहलपुर नगरपालिकाले बाँके जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्न आज कोहलपुरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यहरुले कोहलपुरको समग्र विकासका लागि आफुहरु प्रतिवद्व रहेको बताएका हुन् ।
उनीहरुले कोहलपुरसँगै बाँकेको समग्र विकासका लागि साझा संकल्प तयार पारेर अघि बढ्ने बिश्वास दिलाए । बाँके क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य सूर्य ढकालले कोहलपुरसहित बाँकेको विकासका लागि राजनीति भन्दा माथि उठेर काम गर्ने बिश्वास ब्यक्त गरे ।
उनले बाँकेको विकासका लागि जिल्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिबीच एक भएर अघि बढ्ने सहमति भएको पनि जानकारी दिए ।
त्यसैअनुसार कोहलपुर क्रिकेट मैदान निर्माण, चपरगौडी निबुवा खड्कवार हुँदै घुइँयाबारी सडक निर्माण र कोहलपुरलाई शैक्षिक हब बनाउने योजनालाई अघि सारिएको प्रतिनिधि सभा सदस्य ढकलले बताए ।
यस्तै प्रतिनिधि सभा सदस्य आशा विकले समग्र बाँकेको विकासका लागि बाँकेबाट निर्वाचित सांसद एक हुनु पर्ने बताउँदै आफुहरु त्यहीँअनुसार अघि बढेको बताइन । चुनाव अघि दलका प्रतिनिधि भएपनि जितेर आइसकेपछि भने आफुहरु दलगत विचार भन्दा माथि उठेर जनताको सेवामा खटिनु पर्ने धारणा उनले व्यक्त गरिन् ।
उनले कोहलपुर नगरपालिकाको नेतृत्व यूवा भएकाले सहकार्य र समन्वय गरेर कोहलपुरको समग्र विकासमा गर्न तयार रहेको बताइन् ।
यस्तै बाँके क्षेत्र १ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले कोहलपुरको विकासका लागि सबै जनप्रतिनिधि एक हुन आवश्यक रहेको धारणा राखिन् ।
उनले कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्न स्थानीय सरकारले बहस चलाउन जरुरी देखिएको बताउँदै उनले कोहलपुरमा विशाल पार्क निर्माण गर्दै यसलाई पर्यटकीय नगरीका रुपमा पनि स्थापना गर्न सकिने बताइन् । उनले त्यसका लागि स्थानीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको पनि बताइन् ।
यसैगरी बाँके क्षेत्र ३ (१) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य बादशाह कुर्मीले कोहलपुर नगरपालिका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मुटुको रुपमा रहेकाले यसको विकासका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले कोहलपुरमा यातायात कार्यालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
यस्तै बाँके क्षेत्र ३ (२) बाट प्रदेश सभामा निर्वाचित प्रदेश सभा सदस्य रत्न खत्रीले कोहलपुर उदयमान शहर रहेकोले यहाँको विकासका लागि सहकार्य गरेर अघि बढ्न आफु तयार रहेको बताए । उनले कोहलपुरलाई समृद्व शहर बनाउन गुरु योजना बनाउन आग्रह समेत गरे ।
त्यसैगरी कार्यक्रममा प्रदेश सभा सदस्यहरु बसन्ती अधिकारी, सञ्जुकुमारी थारु, माया पुन, सुशीला बादी र मीना कुमारी बोहरा सिद्दिकीले कोहलपुरसहित बाँकेको समग्र विकासका लागि आफ्नो तर्फबाट गर्नु पर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता जनाए ।
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्ण प्रसाद आचार्यको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यसक्रममा नगरप्रमुख आचार्यले कोहलपुरको विकासका लागि प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सदस्यहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
उनले तीन तहका सरकार रहेपनि अहिले आम नागरिकको भरोसा भने प्रतिनिधि र प्रदेश सभा भन्दा स्थानीय सरकारसँग बढि रहेको बताए । उनले जनतालाई तीनवटै सरकारको आभास दिलाउन आवश्यक रहेको बताए ।
नगरप्रमुख आचार्यले कोहलपुरको विकासका लागि संस्थागत सुधारको काम सुरुवात गरिएको बताए ।
नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेको बधाई ज्ञापन कार्यक्रमको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले सञ्चालन गरेका थिए ।
बधाई ज्ञापन कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रवक्ता वडा नम्बर १४ का वडा अध्यक्ष नमबहादुर आले, वडा नम्बर ८ का वडा अध्यक्ष लालबहादुर राना, वडा नम्बर १३ वडा अध्यक्ष डम्बरबहादुर खड्का, सामाजिक विकास समितिका संयोजक इश्वरी प्रसाद विक लगायतले कोहलपुरको विकास निर्माणका सवालमा प्रतिनिधि र प्रदेश सभा सदस्यलाई ध्यानाकर्षण गराएका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी