६ महिनामै नेपालगन्जको व्यापार घाटा साढे ३१ अर्ब


६ महिनामै नेपालगन्जको व्यापार घाटा साढे ३१ अर्ब

File Photo

नेपालगन्ज १८ माघ : पश्चिम तराईको प्रमुख भन्सार कार्यालय रहेको नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा करिब साढे ३१ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । नेपालगन्ज भन्सार कार्यालयका अनुसार जमुनाह नाका हुँदै भारत तथा तेस्रो मुलुकसँग भएको व्यापारमा ३१ अर्ब ५७ करोड ३० लाख २३ हजार रुपैयाँ घाटा भएको हो ।

निर्यातको तुलनामा आयात बढ्दै जाँदा व्यापार घाटा चुलिएको भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले बताए । निकासी ज्यादै न्युन भएपनि पेट्रोलियम पदार्थ, खाद्यान्न, उद्योगका लागि आवश्यक कच्चा पदार्थलगायतको आयात बढ्नु र निर्यात भने न्युन हुँदा व्यापार घाटा उच्च भएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको पुससम्म सो नाकाबाट ३३ अर्ब ५६ करोड ५६ लाख ४३ हजार रुपैयाँको व्यापार भएको छ ।

जसमध्ये ३२ अर्ब ५५ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको सामग्री आयात भएकोमा ९९ करोड ६३ लाख १० हजार रुपैयाँको मात्र वस्तु निर्यात भएको छ । निर्यातको तुलनामा उच्चदरमा आयात बढ्दा नाकाबाट मात्र करिब ९७ प्रतिशत व्यापार घाटा भएको छ । अर्थात यस नाकाबाट आयातको तुलनामा निर्यात करिब ३ प्रतिशत मात्रै हुने गरेको छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा भने ९ अर्ब २९ करोड ६८ लाख ७२ हजार रुपैयाँ व्यापार घाटा कम भएको छ ।

गत आर्थिक वर्षको पुससम्म ४० अर्ब ८६ करोड ९८ लाख ९५ हजार रुपैयाँ अर्थात ९७.६८ प्रतिशत व्यापार घाटा भएको थियो । गत वर्षको ६ महिनामा यस नाकाबाट ४१ अर्ब ८४ करोड १ लाख ९९ हजारको बस्तु आयात भएकोमा ९७ करोड ३ लाख ४ हजारको सामग्री निर्यात भएको थियो । चालु आर्थिक वर्षमा चिनी, गहुँ जस्ता वस्तुमा कोटा सिस्टम लागु गरेर आयातमा कमी हुनु र एलसी अनिवार्य गर्नु लगाएत विभिन्न प्रकारका वस्तु पैठारीमा प्रतिबन्ध लगाउनुजस्ता कारणले आयात घटेको भन्सार अधिकृत शर्माले बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यालयका अनुसार गत आवको सोही अवधीको तुलनामा चालु आवमा यस नाकाबाट पेट्रोलिएम पदार्थ, शुद्ध फलाम, भटमासको पीना, दाललगायतका वस्तुको आयात बढेको छ भने चामल, चिनी, एलपी ग्यास, आलु, कोइला, कृषियन्त्रलगायतका वस्तुको आयात घटेको छ । पछिल्लो ६ महिनाको तथ्यांक अनुसार नेपालगन्ज नाकाबाट गत वर्षको सोही अवधीको तुलनामा करिब ५२ प्रतिशत चामल आयात घटेको छ भने चिनी ५६.४४ प्रतिशत र आलु २७.९९ प्रतिशत घटेको छ ।

जसका कारण गत वर्ष भन्दा व्यापार घाटामा केही कम देखिएको हो । ६ महिनाको अवधीमा नेपालगन्ज नाका हुँदै प्लाइउड, जडीबुटी, खोटो रोजिन, तारपिनको तेल, रिट्ठा, अदुवा सुठो, दालचिनी, मसला, वनस्पति उत्पादन भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ ।

सरकारले आयात दर घटाउन विभिन्न योजना कार्यान्वयनमा ल्याएको जनाएपनि हरेक वर्ष आयातको हिस्सा घट्नुको साटो बढ्ने क्रममा छ । यस्तै नेपालबाट भारततर्फ निकासी हुने वस्तुको परिमाण भने बढ्न सकेको छैन । जसका कारण हरेक वर्ष व्यापार घाटा चुलिँदै गएको हो ।