नरैनापुरमा धार्मिक मेला शुरु


नरैनापुरमा धार्मिक मेला शुरु

नरैनापुर २१ माघ(बाँके) : बाँकेको नरैनापुरमा धार्मिक मेला सुरु भएकोछ । नरैनापुरको मियापुर्वामा रहेको मुस्लिमहरुको प्रसिद्ध धार्मिक स्थल ‘आस्तान ए हजरत खलीफा नूर अहमद शाह’को मजार शरीफमा प्रत्येक वर्ष झैँ यस वर्षपनि उर्श(धार्मिक मेला) सुरु भएको हो ।

प्रत्येक वर्ष माघ महिनामा मजार विकास समितिले प्रसिद्ध ‘बाबा आस्तान ए हजरत खलीफा नूर अहमद शाह’कोे ‘उर्श’ धुमधामको साथ मनाउँदै आएको छ । माघ २० गतेदेखि सुरु भएको उर्शमा नेपाल सहित छिमेकी मुलुक भारतका हजरौं मुस्लिम धार्मिक श्रद्धालु(जाईरीन)हरुको सहभागिता रहने गर्छ ।

त्यसैगरी, उर्शको अवसरमा रातिको समयमा जलसा(धार्मिक प्रवचन) हुदैँ आएको छ भने भाकल गरेकाहरुले दैनिक रुपमा बाबाको मजारमा फतिहा, नियाज तथा धार्मिक क्रियाकलाप गर्ने गर्दछन् ।

बाँकेको नेपालगन्जदेखि करिव ४७ किलो मिटर पुर्वमा अवस्थित नरैनापुर गाँउपालिका–२ स्थित ‘आस्तान ए हजरत खलीफा नूर अहमद शाह’को मजार शरीफमा लागेको ‘उर्श’ ‘पाक औलया–ऐ केराम’को पहिलो दिन शुक्रवार लुम्बिनी प्रदेशकी मन्त्री कृष्ण केसी ‘नमूना’ र नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले संयुक्त रुपमा बाबाको मजारमा चादर चढाउँदै उर्शको उद्घाटन गरेको डाक्टर वकार शाहले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्री नमूनाले माजार शरीफलाई धार्मिक स्थलको रुपमा विकास गर्नुपर्ने प्रतिबद्धता व्यक्त गरिन् । मजारलाई व्यस्थित बनाएको खण्डमा बाँकेको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउँदै मन्त्री नमूनाले मजार शरीफमा खानेपानी, शौचालय, तथा धर्मशलाको काम प्रदेश सरकारबाट गराउने उद्घोष गरिन् ।

नरैनापुर गाँउपालिकाका अध्यक्ष एंव मेलाका संरक्षक इस्तियाक अहमद शाहले मजार शरीफ मुस्लिमहरुका लागि नेपालकै धार्मिक पर्यटकीय क्षेत्र मध्येका एक रहेको बताउँदै उनले मजार शरीफको विकास संघीय, प्रदेश र स्थानीय तीनै तहको सरकारले लगानी गर्नुपर्ने बताए ।

नरैनापुर–१ का अध्यक्ष इसाक जोलाहले भने, ‘आस्तान ए हजरत खलीफा नूर अहमद शाह मजार बाँकेबासी वा प्रदेशबासीको मात्रै होईन । यो सम्पूर्ण नेपालबासीको गौरव हो । त्यसकारण यसको संरक्षण र प्रबद्र्धन गर्न सकेको खण्डमा मुलुकको आर्थिक तथा पर्यटन विकासमा ठूलो टेवा पुग्छ ।’

उर्शमा सहभागी भएका मन्त्री नमूना, तथा राजनीतिकर्मीहरुलाई मजार विकास समितिका पदाधिकारीहरुले स्वागत गरेका थिए । उर्शलाई भव्य बनाउन नेपाल तथा भारतका प्रसिद्ध मुस्लिम धार्मिक गुरुहरुलाई प्रवचनको लागि आमन्त्रण गरिएको मजार विकास समितिका संरक्षक रिजवान अहमद शाहले जानकारी दिए ।

उर्शमा सहभागी भएका श्रद्धालुहरुको खानेपानी, आवास तथा स्वास्थ्य उपचारको लागि विभिन्न शिविरहरु सञ्चालन गरिएको समितिका सदस्य गुफरान अहमद शाहले बताए ।

सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र करिव दुई सय स्वयमसेवक परिचालन गरिएको छ । सांस्कृतिक, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्नका लागि यो उर्शको महत्वपूर्ण योगदान रहेको स्थानीयहरु बताउँछन् । मेला नरैनापुर– २ का अध्यक्ष एंव मेलाका संरक्षक मसूद अहमद शाह लगायतको सहभागिता रहेको थियो।