नरैनापुर २३ माघ : बाँकेको नरैनापुर गाउँपालिका पुग्नका लागि वडा नम्बर–२ रोसनपुर्वाका स्थानीयबासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । नरैनापुर गाउँपालिकाले ३ करोड रुपैयाँको लागतमा रोसनपूर्वामा सडक निर्माण कार्य सुरु गरेपछि स्थानीय बासिन्दाको बाध्यता हट्ने भएको हो । रोसनपूर्वाको रोड निमार्ण सुरु भएपछि स्थानीयहरु हर्षित भएका छन् ।
गाँउपालिकाको दक्षिण कुनामा भारतीय सीमासँग जोडिएको रोसनपुर्वा गाँउका बासिन्दा राज्यकोे उदासिनताका कारण आफ्नै पालिका आउनका लागि वर्षौदेखि भारतीय बाटो प्रयोग गर्न बाध्य रहेको स्थानीयबासी मोहम्मद मुज्ममीलले बताए ।
रोसनपुर्वाबाट आफ्नै देशको भूमी प्रयोग गरेर गाँउपालिका र सदरमुकाम आउने यातायातको सुविधा नभएका कारण त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न बाध्य भएको अर्का स्थानीयबासी नजिर खाँको भनाई छ ।
स्थानीय नजिर खाँले भने,‘हाम्रा बच्चाहरु स्कुल जान पाएका थिएनन्, नियमित रुपमा लगाईने खोपसहित शिक्षा, स्वास्थ्य र मतदान गर्न पाउने अधिकारबाट बन्चित थिए । तर, अब रोड बनेपछि सहजता आउनेछ ।’
६ किलोमिटरको बाटो तय गर्न उनीहरुलाई भारतीय बाटो प्रयोग गर्दा रु १५० र अढाई घण्टा समय लाग्ने गरेको स्थानीयबासी राजेश यादवले बताए ।
नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुर गाँउपालिकासँग रोसनपूर्वालाई जोड्ने नेपाली सडक वर्षौपछि ३ करोड लागतमा निमार्ण सुरु गरिएको बताउँदै अब रोसनपूर्वाका नागरिकहरुलाई भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यताको अन्त्य हुने दाबी गरे ।
योजना शाखा प्रमुख प्रकाश अधिकारीले ६ किलो मिटरको बाटो निमार्ण सुरु भएको बताउँदै ५ महिना भित्रै सडकको निर्माणको काम सम्पन्न गरिने जानकारी दिए । रोसनपुर्वा गाँउमा ६ सय घरधुरी संख्या रहेको छ ।