कर्णालीमा ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त


कर्णालीमा ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त

नेपालगन्ज २६ माघ : कर्णाली प्रदेशभर ठूलो संख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागानुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छ ।

शिक्षक अभाव भएपछि शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी पूर्ति गर्न माग गरेका छन् । एकाइ प्रमुुखहरूका अनुसार धेरैजसो प्राथमिक तहका शिक्षक अपुग हुँदा राहत र निजी स्रोतको भरमा विद्यालय सञ्चालन गर्नुपरिरहेको छ ।

जुम्लामा प्राथमिक तहका ४४० मध्ये ४१ दरबन्दी खाली छ । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुुख मक्कर भण्डारीका अनुसार जुम्लामा निमाविमा ८० र मावि तहमा ६० दरबन्दी भए पनि अपुग भएपछि थप पाँच दरबन्दी माग गरिएको छ ।

यस्तै, सुर्खेतमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी छ । शिक्षा विकास तथा समन्वय एकाइ सुर्खेतका शाखा अधिकृत नारायणप्रसाद पौडेलका अनुसार निमावि र माविमा तहमा आवश्यक शिक्षक भए पनि प्राथमिक तहमा अभाव छ । सुर्खेतमा १५६ मावि, २४५ निमावि र प्राथमिक तहमा एक हजार १९१ शिक्षक दरबन्दी पदपूर्ति छ । तर, प्राथमिक तहमा ३१ दरबन्दी पदपूर्ति हुन बाँकी रहेको पौडेलले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी, मुगुमा तीनवटै तहका लागि १०६ दरबन्दी माग गरिएको छ । प्राविमा ६८, निमाविमा १३ र माविमा २५ दरबन्दी आवश्यक देखिएको शिक्षा विकास तथा समन्वय एकाइ मुगुका प्रमुख सूर्य खत्रीले जानकारी दिए ।
दैलेखस्थित समन्वय एकाइका निमित प्रमुख रतन विष्टका अनुसार प्राविमा अहिले कायम रहेको दरबन्दीमै पनि २०० हाराहारीमा शिक्षक दरबन्दी खाली छ ।

यस्तै, रुकुुमपश्चिममा प्राविमा २८ दरबन्दी थप गर्न माग गरिएको छ । निमाविमा चार र माविमा एकजनाको दरबन्दी माग गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख ताराप्रकाश पुनमगरले बताए ।

सरकारले पहाडी जिल्लामा ४५ विद्यार्थीबराबर एक शिक्षक हुनुपर्ने मापदण्ड बनाएको छ । हिमालमा ४० विद्यार्थीबराबर एक शिक्षकको नियम छ ।

कर्णालीका सबैजसो विद्यालयले उक्त मापदण्डअनुसार शिक्षक पाएका छैनन् । शिक्षक र विद्यार्थी अनुपातानुसार दरबन्दी मिलानको प्रयास गरिए पनि समस्या समाधान हुन सकेको छैन । विद्यालय संख्या धेरै र दरबन्दी कम भएकाले दरबन्दी मिलान गर्न समस्या भएको सम्बन्धित जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूले बताएका छन् । -रासस