नेपालगन्ज २६ माघ : दिदीबहिनी समाज बाँकेको प्रथम वार्षिकोत्सव भब्यताका साथ सम्पन्न भएको छ ।
महिलाहरुको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भई गैर सरकारी संस्थाको रुपमा कार्य गर्दै आएको संस्थाले माघ २५ गते पहिलो वार्षिकोत्सव मनाएको हो ।
दिदीबहिनी समाज बाँकेका अध्यक्ष रमादेवि शाहको अध्यक्षता तथा नेपालगन्ज उपमहानगरपालिकाकी निर्वतमान उपप्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको वार्षिकोत्सवमा उमाले दिदीबहिनी र आमाहरुको संयुक्त टिम साच्चिकै उदाहरणीय रहेको बताईन ।
संस्था स्थापनाको छोटो समयमा नै थुप्रै सामाजिक कार्य गरिसकेकोमा खुसी ब्यक्त गर्दै संस्थाले गर्ने हरेक कार्यमा साथ र सहयोग रहने उमाले प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै अतिथि तथा गैसस महासँघ बाँकेका अध्यक्ष नमस्कार शाहले महिलाहरुको नेतृत्वमा महिलाहरु नै मिलेर सामाजिक कार्यको भावले संस्था दर्ता गरि सामाजिक कार्य गर्नु अनुसरणीय रहेको बताए ।
कार्यक्रममा गैरसरकारी संस्था महासँघ बाँकेका अध्यक्ष नमस्कार शाह, दिदीबहिनी समाजका सल्लाहकार किरण आचार्य, फेडोका अध्यक्ष निर्मला सुनार, डेक नेपालका अध्यक्ष हरिकला थापा, फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी, निल सागर सेवाश्रमका अध्यक्ष सरिता खनाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्ने अतिथिहरुले सामाजिक क्षेत्रमा महिलाहरुको सख्या न्यून रहेकोमा महिलाले नै नेतृत्व गरेको र सहभागि रहेको संस्थाले कार्य गर्नु प्रशंसनीय रहेको बताएका थिए ।
दिदीबहिनी समाजका उपाध्यक्ष दिला शाहले सञ्चालन गरेको कार्यक्रममा स्वागत संस्थाका सचिव लुना बुढाथोकीले गरेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष दिला शाहले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिबेदन छलफल पश्चात अनुमोदन गरेको छ ।