नेताले कार्यकर्तालाई अधिकतम न्याय गर्नुपर्छ : सहमहामन्त्री राठौर


नेताले कार्यकर्तालाई अधिकतम न्याय गर्नुपर्छ : सहमहामन्त्री राठौर

नेपालगन्ज २८ माघ : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेता भएपछि कार्यकर्तालाई समान रुपले न्याय गर्न सक्नुपर्ने बताएका छन् ।

प्रजातान्त्रिक उद्योग ब्यवसायी संघको चौथो जिल्ला तथा प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका उनले सबै कार्यकर्तालाई समान रुपले न्याय गर्न नसक्ने ब्यक्ति नेता हुन नसक्ने स्पष्ट पारे ।

‘म पनि सिक्दैछु, बुझ्दैछु, जान्दैछु, मबाट पनि कमी कमजोरी हुन सक्छ,’ उनले भने ‘तर म त्यो नेता हो, अधिकतम न्याय गर्नुपर्छ भन्ने मान्यता राख्ने नेता हो, नेताले अधिकतम न्याय गर्नुपर्छ, किनभने हामी बाबु आमालाई छाडेर नेताको पछाडी लागेको हो, संगठन गर्ने कुरामा न्याय गर्नुपर्छ, न्याय गरेको अनुभुती गर्नुपर्छ, न्याय गरेको देखिनुपर्छ ।’ प्रतिनिधि सभाका सांसद समेत रहेका राठौरले आफु पनि पटक–पटक अन्याय परेको दुखेसो पोखे ।

‘मैले जसलाई नेता मानेको छु उसैले मलाई पटक–पटक अन्याय गरेकोे छ, तरपनि म लागिरहेको छु । मानिरहेकोछु, मलाई संस्थापन हुन मात्रै २० वर्ष लाग्यो,’ उनले भने ‘पदको कुरा छाड्नुस् ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले आर्दशका कुरा गरेपनि सोही पार्टीका सभापति रबि लामिछानेमा सत्ता लिप्सा देखिएको बताए । ‘रबि लामिछानेले गृहमन्त्री छाड्न मरिहत्ते गरेको तपाई सबैले देख्नु भयो नि, हामीले कसरी स्वीकारेका हौँला रबि लामिछानेलाई गृहमन्त्री ? हामीलाई पनि पीडा थियो,’ उनले भने ।

Kanti Aarogya Hospital Nepalgunj

संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई विशिष्ट अतिथी एवम् काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, उपसभापति गोपालप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारी, अधिवेशनका संयोजक ललितकुमार रौनियार लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।