छैटौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी : महिलाद्वारा उत्पादित बस्तुको प्रर्वद्धन गरिदैँ


छैटौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी : महिलाद्वारा उत्पादित बस्तुको प्रर्वद्धन गरिदैँ

नेपालगन्ज ३ फागुनः बाँकेको नेपालगन्जमा यही फागुन ५ गतेदेखी छैटौं ‘लुम्बिनी प्रदेश स्तरीय’ महिला उद्यम प्रर्दशनी गरिने भएको छ । महिला उद्यमीले उत्पादन गरेका बस्तुको प्रर्वद्धन तथा बजारीकरण गर्नका लागि प्रदेश स्तरीय प्रर्दशनी यही फागुन ९ गतेसम्म सञ्चानल हुनेछ ।

आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर प्रदर्शनीबारे जानकारी दिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ स्थित बागेश्वरी मन्दिरको चिल्ड्रेन पार्कमा उक्त प्रर्दशनी सञ्चालन हुने प्रर्दशनी संयोजक सावित्री बस्नेतले जानकारी दिइन् ।

उनका अनुसार प्रदर्शनीको लुम्बिनी प्रदेशकी आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ ले उद्घाटन गर्ने तय भएकोछ । उक्त प्रर्दशनीमा बाँकेसहित पाल्पा, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्युठान, रुकुम, दाङ्ग, बर्दिया र सुर्खेतका महिला उद्यमीले उत्पादन गरेका बस्तुहरु प्रर्दशनीमा राखिनेछ ।

महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, साँस्कृतिक पहिचान झल्किने पोशाक, प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, कला साहित्य, चाडपर्वमा पाईने र बनाइने नेपाली साँस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आर्कषण रहेको आयोजकले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

संयोजक बस्नेतका अनुसार नव उद्यमी उत्पादन गर्न बिद्यार्थीहरुलाई बिक्री वितरण गर्न सिकाउन बिद्यार्थीको स्टल समेत राखिनेछ । प्रर्दशनीमा सानो लगानीबाट महिला उद्यमी बन्न सफल महिला उद्यमीहरुलाई सम्मान गरिने संयोजक बस्नेतले बताइन् ।

२०६० सालमा स्थापना भएको संघमा ६२ जना महिला उद्यमीहरु सदस्य छन् । संघले २०७२ सालदेखी प्रर्दशनी गर्न थालेको हो । संघ बाँकेका अध्यक्ष निरुपमा रस्तोगीले महिला उद्यमीहरुको सीप प्रर्दशन र उत्पादित बस्तुको बजारीकरण गर्नका लागि प्रदर्शनी गर्न लागिएको बताईन् ।

‘यो हाम्रो छैटौं संस्करण हो,’ उनले भनिन् ‘प्रर्दशनीमार्फत महिलाको उत्पादनलाई प्रवद्र्धन गर्नु हो ।’ नेपालगन्ज उपमहानगरपालिका कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा गरिने उक्त प्रर्दशनीमा ५० भन्दा बढी स्टल रहने भएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान केन्द्रिय अध्यक्ष भवानी राणाले महिलाभित्र धेरै सीप भएपनि त्यसलाई बाहिर ल्याउन नसकेको बताइन् । ‘महिलाभित्र भएको सीपलाई बाहिर ल्याउनमा यस्तो प्रर्दशनी महत्वपूर्ण हुन्छ,’ उनले भनिन् ।

बाँकेका महिला उद्यमीले उत्पादन गरेका बस्तुको काठमाडौंमा धेरै माग भइरहेको राणाले बताइन् । ‘नेपाली महिला उद्यमीले उत्पादन गरेका केही सामानहरु थाईल्याण्डसम्म पुर्याउने गरिएको छ, विदेशमा समेत माग बढेको छ,’ राणाले भनिन् । महिलाले उत्पादन गरेका सामाग्रीको बजारीकरण गर्न ठुलो समस्या रहेको उनको भनाई छ ।

संघका केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा पराजुलीले महिलाले उत्पादन गरेका बस्तुको राम्ररी बजारीकरण हुन नसकेको बताइन् । महिला उद्यमीको उत्पादन बजारीकरण गर्नकै लागि संघले हरेक वर्ष प्रर्दशनी गर्दै आएको उनले जोड दिइन् । पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान उपमेयर उमा थापामगर, महिला उद्यमी संघका पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।