संगठन सुदृढीकरणमा ध्यान दिन नेता तथा कार्यकर्तालाई निर्देशन


संगठन सुदृढीकरणमा ध्यान दिन नेता तथा कार्यकर्तालाई निर्देशन

नेपालगन्ज ४ फागुन : नेपाली काँग्रेसका सहमहामन्त्री एवम बाँके क्षेत्र नम्बर–३ का प्रतिनिधी सभा सदस्य किशोरसिंह राठौरले संगठन सुदृढीकरणमा ध्यान दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकाछन् ।

नेपाली काँग्रेस बाँकेको खजुरा गाउँपालिका स्तरीय वार्षिक सम्मेलनको बिहीबार उद्घाटन गर्दै सहमहामन्त्री राठौरले काँग्रेसको विचार र सिद्धान्त तल्लो तहसम्म पु¥याउनु पर्ने बताउँदै नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

उनले काँग्रेसको नीति र सिद्धान्त सही भए पनि तद्अनुरुप व्यवहार हुन नसकेको कुरा उठिरहेकोतर्फ काँग्रेसका सबै तह र तप्काका नेता कार्यकर्ता गम्भीर हुनुपर्ने बताए ।

उनले राजनीति जनताको हित र भलाईका लागि गरिनुपर्ने भएपनि पछिल्लो समयमा स्वार्थ प्रेरित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । जनसेवा र हितका पक्षमा राजनीति गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिए । सहमहामन्त्री राठौरले स्थापित दलहरुसंग जनता टाढिएका कारण स्वतन्त्रका नाममा विचारविहीनहरुले राजनीतिमा हस्तक्षेप गर्न थालेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले नेता कार्यकर्तालाई व्यक्ति विशेषको नभई पार्टीको मान्छे बन्न आग्रह गरे ।

उनले कुनै व्यक्ति पदमा निश्चित समयलाई मात्र रहने हुँदा व्यक्तिको भक्तिगानमा नभई पार्टीको मान्छे भएर जिम्मेवारी बोधका साथ काम गर्न आग्रह गरे । काँग्रेस बाँके संगठन निर्माण र विस्तार गर्ने अर्जुनदृष्टिका साथ अघि बढेको बताउँदै गौडेलले अझ सदृढ र संगठिन काँग्रेस बनाउन कुनै कसर बाँकी नराखिने बताए ।

प्रतिनिधिसभा सदस्य आशा विक, प्रदेशसभा सदस्य बादशाह कुर्मीले काँग्रेस अरु दल भन्दा फरक भएको र जनताका पक्षमा निरन्तर काम गर्दै आएको कुरा जनसमक्ष पु¥याउनु नेता कार्यकर्ताको काम भएको बताए ।

उनीहरुले पार्टीलाई चलायमान बनाए मात्रै संगठन धारिलो हुने भन्दै व्यक्तिगत स्वार्थलाई बिर्सेर पार्टीलाई शीरमा राखी संगठन विस्तारमा जुट्न आह्वान गरे । जिल्लाको भावलाई बुझ्दै लय पकडेर अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई उनले आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसदहरु माया पुन, सुशिला बादी, जिल्ला सचिव सुधांशु कोइराला, क्षेत्र नम्बर–३ का क्षेत्रीय सभापति नक्की खाँ लगायत नेता उपस्थित थिए ।

सो अवसरमा संगठन सुदृढीकरणमा योगदान गरेको भन्दै नेपाली काँग्रेस बाँकेका पूर्व सभापति कृष्णमान श्रेष्ठसहित ७ जना नेताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा हरिप्रसाद ढुंगाना, रामबहादुर थापा, धनबहादुर आचार्य, नवराज थापा, खलिल खाँ र रामबहादुर गुरुङ्ग छन् । कार्यक्रम खजुरा पालिका सभापति रमेश सिंजालीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्मेलनमा नेता कार्यकर्तालाई प्रशिक्षण समेत दिइएको छ । नेपाली काँग्रेस बाँकेका प्रशिक्षण विभाग प्रमुख समेत रहेका गोपालप्रसाद अधिकारीको विशेष उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य, प्राध्यापक डाक्टर राजकुमार सुवेदी र पूर्व पार्टी सचिव अधिवक्ता कपीलदेव शर्माले प्रशिक्षण दिएको सम्मेलन व्यवस्थापन तथा आर्थिक समिति संयोजक महेन्द्र मल्ल ठकुरीले जानकारी दिए ।