खुल्यो प्रेस युनियनको सदस्यता


खुल्यो प्रेस युनियनको सदस्यता

नेपालगन्ज ७ फागुन : नेपाल प्रेस युनियन बाँकेले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको अध्यक्षतामा आईतबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गरेको हो ।

उक्त बैठकले बाँके जिल्लामा नेपाल प्रेस युनियनको नयाँ सदस्यताको आवेदन युनियनको विधान अनुसार जिल्लामा पत्रकारिता गरिरहेका ब्यक्तिहरुबाट लिने र पुरानो सदस्यको नविकरण २०७९ फागुन १८ गतेभित्र गर्ने निर्णय गरेको छ । यसका लागि कोषाध्यक्ष मधु पौडेल र सचिव विजय मल्ललाई कार्य जिम्मेवारी दिइएको छ ।

बैठकले प्रेस युनियन बाँकेको थप दुई वटा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । ‘स्थापना गरिएको पुरस्कारहरुमा ‘प्रेस युनियन युवा पत्रकारिता पुरस्कार’ र ‘प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार’ रहेका छन्, उक्त पुरस्कार नेपाल प्रेस युनियनको पुरस्कार छनोट कार्यविधि अनुसार वितरण गरिनेछ,’ सचिव विजय मल्लद्वारा जारी प्रेस नोटमा भनिएको छ ।

यसैगरी युनियन बाँकेले स्थापना गरेका पत्रकारिता पुरस्कारहरु क्रमशः सुशिल कोइराला स्मृती राष्ट्रिय पत्रकारिता पुरस्कार, प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त ‘चाचाजी’ राष्ट्रिय पत्रकारिता पुरस्कार, जगन्नाथ गौडेल पत्रकारिता पुरस्कार, प्रेस युनियन युवा पत्रकारिता पुरस्कार र प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार छनोटका लागि कार्यविधि बनाउने निर्णय गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

त्यस्तै नेपाल प्रेस युनियन बाँकेको पहिलो स्मारिका ‘समृद्धिका लागि सञ्चार’ प्रकाशन गर्न युनियन बाँकेका सम्पूर्ण कार्यसमिति पदाधिकारी सक्रियता पुर्वक लाग्ने निर्णय गरिएको छ । ‘स्मारिकाको लागि प्रेस युनियन सम्बद्ध पत्रकारहरुसँग विभिन्न विषयमा लेख, विचार जस्ता सामाग्रीहरु आब्हान गर्ने निर्णय गरियो,’ जारी नोटमा भनिएको छ ।

बैठकले विगतको वर्षझै आगामी वर्षका लागि प्रेस युनियन बाँकेको भित्तेपात्रो प्रकाशन गर्न पुर्वतयारी गर्ने निर्णय गरिएको सचिव मल्लद्वारा प्रेसित नोटमा जनाइएको छ ।