आदर्शको २० औं वार्षिकोत्सव र अभिभावक दिवस सम्पन्न


आदर्शको २० औं वार्षिकोत्सव र अभिभावक दिवस सम्पन्न

नेपालगन्ज १३ फागुन : बाँकेको नेपालगन्जमा रहेको आदर्श मावि नेपालगन्जले शनिबार आफ्नो २०औं वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । विद्यालय प्रांगणमा आयोजित एक भब्य कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष सञ्जय थापाको अध्यक्षता एवम् नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम गरिएको हो ।

सोक्रममा बोल्दै नगरप्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका निजी विद्यालयहरुलाई उत्कृष्ट बनाउन निरन्तर अनुगमन गरिरहेको बताए । उनले आदर्श मावि छोटो समयमै उत्कृष्ट विद्यालयको रुपमा दर्ज भएको बताउँदै छोटो समयमै अभिभावकहरुको मन जितेको भन्दै प्रशंसा समेत गरे ।

उनले मानव सभ्यताको विकास क्रममा शिक्षाको नै अहम् भूमिका हुने भन्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गरे । उनले विद्यालयमा आफ्ना बालबच्चालाई भर्ना गरेर मात्र अभिभावकको दायित्व पूरा नहुने भन्दै आफ्ना बालबच्चा र विद्यालयका शिक्षण क्रियाकलापप्रति चासो राख्न आग्रह गरे ।

विद्यालयका संस्थापक एवम् एकेडेमिक एडभाइजर प्रकाश लामिछानेले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यालयलाई सधैं उत्कृष्ट स्थानमा राख्न दत्तचित्त भएर लागेको बताए । उनले किताबी ज्ञान मात्र नभएर अतिरिक्त क्रियाकलापसंगै जीवनोपयोगी शिक्षा र सीपमा पनि विद्यार्थीहरुलाई अग्रसर गराइरहेको बताए ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रमको समापन गर्दैे अध्यक्ष थापाले आदर्श अभिभावकहरुको पहिलो रोजाई बनेको बताए । विद्यार्थी र अभिभावकहरुको चाहना अनुसार विद्यालय अघि बढिरहेको उल्लेख गर्दै उनले गुणस्तरीय र व्यहारिक शिक्षा प्रदान गर्ने कुरामा कुनै कम्प्रमाइज नहुने स्पष्ट पारे ।

स्वागत मन्तब्य व्यक्त गर्दै प्राचार्य विरभान केसीले विद्यालयलाई अभिभावकहरुका सुझाब र गुनासाहरुको हमेशा खाँचो पर्ने भन्दै स्वस्थ आलोचनाले विद्यालयलाई अझ अघि बढ्न प्रेरणा मिल्ने बताए ।

आफ्ना सुझाब र गुनासा विद्यालय प्रशासनसमक्ष स्पष्ट ढंगले राख्न उनको आग्रह छ । विद्यालयका सह–प्राचार्य टंक गौतमले सञ्चालन गरेको कार्यक्रममा २०७२ सालको भूकम्पमा परी ज्यान गुमाएकी मेधाबी छात्रा अनुराधा अधिकारीको स्मृतिमा स्थापित अनुराधा स्मृति पुरस्कार ‘उत्कृष्ट एसइई छात्रा’ अमिसा सिंहलाई प्रदान गरिएको छ । स्वर्गीय अधिकारीका बुवा ध्रुब अधिकारीले अमिसाका बुवा अजितकुमार सिंहलाई पुरस्कार प्रदान गरेका थिए ।

यस्तै प्रमुख अतिथि नगरप्रमुख विष्टले विभिन्न विधा एवम् क्रियाकलापहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार एवम् सम्मान प्रदान गरेका थिए । कार्यक्रममा अभिभावक अजितकुमार सिंह, छात्र प्रतिक भण्डारी र छात्रा तनिशा थापाले पनि मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरुले सामूहिक नृत्य, सांस्कृतिक नृत्य पनि प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालय प्रांगणमा विभिन्न फुड स्टलहरु पनि राखिएको थियो । भने वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा रक्तदान कार्यक्रम पनि राखिएको सह–प्राचार्य टंक गौतमले बताए ।