नेपालगन्ज १५ फागुन : नेपालगन्जमा सञ्चालित पुनःस्थापना केन्द्रहरुको अनुगमन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले नगरमा सञ्चालित पाँच वटा पुनःस्थापना गृहहरुको अनुगमन गरेको हो ।
साथी संस्थाको पुनःस्थापना गृह, साना हातहरु नेपालको पुनःस्थापना गृह, शान्ति पुनःस्थापना गृह, माइती नेपालको पुनःस्थापना गृह र शक्ति समूहको पुनःस्थापना गृहको अनुगमन गरिएको छ ।
नगरउपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर–६ का वडा अध्यक्ष समीरप्रताप सिंह, वडा नम्बर –२० का वडा अध्यक्ष कौशलकुमार धोवी, अनुगमन कार्यदल संयोजक महिला विकास अधिकृत पवित्रा पुरी तथा सदस्यद्वय निवर्तमान उपप्रमुख उमा थापा मगर र प्रेस सल्लाहकार नविन गिरी अनुगमनमा पुगेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिका भारतसंग सीमा जोडिएको पालिका भएकाले सीमा नाकामा मानव बेचविखन प्रेरित क्रियाकलाप, महिला तथा बालबालिका ओसारपसार, जाखिमपूर्ण यात्रा गरिरहेकाहरुको चाप बढी देखिने गरेको छ ।
शंकास्पद गतिविधि र क्रियाकलाप देखिएकाहरुलाई आवश्यक सोधपुछ र खोजनीति गरेर शंकास्पद व्यक्तिहरु र पीडितहरुलाई अल्पकालीन आश्रम दिन पुनःस्थापना गृह सञ्चालनमा छन् । पुनःस्थापना गृहहरुले पीडितहरुलाई कानूनी उपचारमा सहयोग संगसंगै समाजमा पुनःस्थापना गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।
नेपालगन्जमा जमुनाहा, खडैंचा, शिवपुुरी लगायतका नाकाहरुबाट पीडितहरुको उद्दार र शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिने गरिएको छ ।
अनुगमनका क्रममा पुनःस्थापना गृहहरुको संस्थागत अवस्था, भौतिक पूर्वाधार, सञ्चालन कार्यविधि लगायत विद्यमान समस्याहरुबारे जानकारी लिइएको थियो । पुनःस्थापना गृहहरु सीमिति स्रोत साधनका बाबजुद पनि व्यवस्थित ढंगले सञ्चालन भइरहेको पाइएको कार्यदल संयोजक पुरीले जानकारी दिइन् ।