राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन : बुधबारदेखि आचारसंहिता लागु हुँदै


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन :  बुधबारदेखि आचारसंहिता लागु हुँदै

नेपालगन्ज १६ फागुन : राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागु हुँदैछ । यही फागुन १७ गते (बुधबार) देखि आगामी चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागु हुन लागेको हो।

आयोगको २०७९ माघ १६ गतेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ ।

संवैधानिक व्यवस्थाअनुसार उक्त निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा हाल कायम ३३२ र ७ वटै प्रदेश सभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ ।

स्वीकृत कार्यक्रम बमोजिम राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भइ यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । आज (मंगलबार) साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिनसक्ने र तत्पश्चात मंगलबारै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

Kids Festival 2022
kanti aarogya hospital

उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त आचारसंहिता २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड– ७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।

गत मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि पनि सोही आचारसंहिता लागू भएको थियो । आयोगको निर्णयबमोजिम उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई लागु हुनेछ ।