संकटमा शिवशिखर सहकारी, आन्दोलनमा उत्रिए बचतकर्ता

अनुगमनको काम आफ्नो कार्यक्षेत्रमा नपर्ने : संघ


संकटमा शिवशिखर सहकारी, आन्दोलनमा उत्रिए बचतकर्ता

File Photo

नेपालगन्ज १७ फागुन : बाँकेमा रहेको एक सहकारी संस्था संकटमा परेपछि बचतकर्ता आन्दोलनमा उत्रिन बाध्य भएकाछन् । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ठूलो आर्थिक अपचलन भएपछि अहिले उक्त सहकारी टाट पल्टिएकोछ । बचतकर्ताहरुको लाखौं करोडौं रुपैयाँ गुम्ने भन्दै बचतकर्ता आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।

आर्थिक अनियमिततासंगै कारोबार सबै डमाडोल भएपछि यतिबेला नेपालगन्जको न्यूरोडमा सहकारीमार्फत सञ्चालित शिवशिखर मार्ट र कार्यालयमा ताल्चा लगाइएकोछ । सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ता नगर्दा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालयमै बचतकर्ता पुगेर रकम फिर्ता माग्ने गरेका छन् ।

सुनौलो भविष्यका लागि आफुहरुले खाईनखाई गरि कमाएर जम्मा गरेको पैसा सहकारीले फिर्ता नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बचतकर्ता बताउँछन् । रकम फिर्ता माग्दा विभिन्न बहानामा आफुहरुलाई पैसा फिर्ता नगरेको भन्दै बचतकर्ताहरुले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको कार्यलयमै गएर रकम फिर्ता माग्दा सहकारीका कर्मचारिले प्रहरी परिचालन गरि बचतकर्तामाथि दवाव दिइरहेकाछन् ।

वर्षौं लगाएर जम्मा गरेको रकम परेको बेला काम लाग्ला ठानियो, अहिले पैसा फिर्ता माग्दा उल्टै आफुहरु माथि प्रहरी लगाएर दवाव दिएको आन्दोलमा उत्रिएका पीडितको गुनासो छ । सहकारीले अहिले पैसा छैन भन्दै बचतकर्तालाई पन्छाइरहेको छ । यतिमात्रै होईन । सो सहकारीले आफ्ना बचतकर्तालाई आफ्नो ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ बाट पैसा बराबरको सामान लैजान समेत दवाव दिईरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सहकारीका कर्मचारी भने बचतकर्तालाई भोली–भोली भन्दै झुलाइरहेको उनीहरुले गुनासो पोखे ।

शिव शिखर सहकारी संस्थाको केन्द्रिय कार्यालय भक्तपुरमा छ । यो सहकारीले २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो । भक्तपुरको कौशलटार मुख्य कार्यालय रहेको यो सहकारीका देशभर ३३ भन्दाबढी शाखा छन् । उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ चलाएको छ ।

बचतकर्ताहरूको गुनसोबारे प्रतिक्रिया लिन खोज्दा नेपालगन्ज स्थित शिवशिखरकी शाखा व्यवस्थापक सन्ध्या गुरुङले सम्पर्कमा आउन चाहिनन् । शिवशिखर सहकारीमा सामान्य आम्दानी भएका, साना व्यवसायी, अटो रिक्सा चालक लगायत मध्यम स्तरका व्यवसायीले बचत गर्दै आएका छन् ।

यससन्दर्भमा जिल्ला सहकारी संघका प्रबन्धक नवराज सुवेदीसँग कुरा गर्दा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था राष्ट्रिय स्तरको सहकारी भएकाले सोको अनुगमनको काम आफ्नो कार्यक्षेत्रमा नपर्ने बताए ।

सहकारी ऐन– २०७४को परिच्छेद –९ अन्र्तरगत आर्थिक स्रोत परिचालनमा बचत कर्ताको रकम फिर्ता तथा खाता सञ्चालन सम्बन्धी व्यवस्था गरिएको छ । जसमा ‘कुनै सदस्यले सहकारी संस्थाको सदस्यता त्यागी रकम फिर्ता लिन चाहेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व भुक्तान गरेको मितिले तीन महिनाभित्र निजको बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ । कुनै सदस्यले सहकारी संस्थामा जम्मा गरेको बचत फिर्ता माग गरेमा निजको कुनै दायित्व भए त्यस्तो दायित्व कट्टा गरी बाँकी रकम तोकिए बमोजिम निजलाई फिर्ता गर्नु पर्नेछ ।’– भनिएको छ । अनियन्त्रित रुपमा बजारमा लगानी गरेका कारण सहकारीले आर्थिक संकटको सामना गर्नु परिरहेको छ ।