बाल सुधार गृहलाई पुस्तक प्रदान


बाल सुधार गृहलाई पुस्तक प्रदान

नेपालगन्ज २२ फागुन : जिल्ला हुलाक कार्यालयका कार्यालय प्रमुख गोविन्द प्रसाद पाण्डे तथा नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख कृष्ण बहादुर पुनले बाल सुधार गृहलाई पुस्तक हस्तान्तरण गरेका छन् ।

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–६ आस्मानपुरमा रहेको जयेन्दु बाल सुधार गृहलाई सामान्य ज्ञान तथा एसई लगायतका कोर्सका एक सय थान पुस्तक हस्तान्तरण गरेका हुन् । उक्त पुस्तका बाल सुधार गृहका संरक्षक तथा जग्गादाता समाजसेवी जयकेश सिंहको रोहबरमा केन्द्रका इन्चार्ज बिमला काउचा मगरलाई हस्तान्तरण गरिएको छ ।

पाण्डेले जयेन्दु बाल सुधार गृहमा बिभिन्न किसिमको बाल बिज्याईका कारण रहेका २०० जना बालकको शिक्षामा सुधार गर्न पुस्तकालय व्यवस्थापनका लागि पुस्तक तथा पुस्तकालय सामाग्री संकलन गर्ने कामको संयोजन गरि रहेका छन् ।

यसैक्रममा संंकलन गरिएका करिब एक हजार पुस्तक तथा दराज लगायतका पुस्तकालय सामाग्री गत असोज ५ गते तत्कालिन महिला बालबालिका तथा समाज कल्याण मन्त्री उमा अधिकारीको रोहवरमा बाल सुधार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

बाल सुधार केन्द्रमा रहेका एसई परीक्षा दिने बिद्यार्थीहरुका लागि सबै विषयका स्वयमसेवक शिक्षक व्यवस्थापन गरेर अभिमुखीकरण कक्षा सञ्चालन लगायतका अन्य उत्प्रेरणादयी सकारात्मक सोंच विकास कक्षा सञ्चालन गर्ने र पुस्तकालय व्यवस्थापन अभियान निरन्त अगाडी बढाई रहने कुरा पाण्डेले बताए ।