अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरैनापुरमा विविध कार्यक्रम


अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा नरैनापुरमा विविध कार्यक्रम

नरैनापुर २४ फागुन : ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बाँकेको नरैनापुर गाँउपालिकामा विविध कार्यक्रम गरी बुधबार मनाइएको छ ।

नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ नरैनापुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले, महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताए ।

महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै अध्यक्ष शाहले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको उल्लेख गरे । सांस्कृतिक तथा परम्परावादी सोचअनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उनको भनाई थियो ।

अध्यक्ष शाहले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उनको भनाई थियो । नरैनापुर गाँउपालिका महिलाहरुको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

परिवर्तन महिला सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले सांस्कृतिक, राजनैतिक, सामाजिक आर्थिक अधिकार महिलाहरुले प्राप्त गरेको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिए पनि कानुनतः पैतृक सम्पत्तिमा समान अधिकार तथा सामाजिक आर्थिक र व्यवहारिक रुपमा समानता प्राप्त हुँदा मात्र लैंगिक समानता कायम हुने बताइन् ।

सहकारीका अध्यक्ष खाँडले प्रत्येक दिनलाई महिला दिवसको रुपमा मनाउन सुझाव दिँदै हिजो हाम्रा आमा, हजुरआमाहरुले कसरि जीवन व्यतित गर्नु भएको थियो, आज हामी कुन अवस्थामा छौं र भावी पुस्तालाई भेदभावमुक्त समाज हस्तान्तरण गर्न के गर्नु पर्छ भन्ने बारेमा सचेत हुन आग्रह गर्दै महिला दिवसको अवसरमा सबै दिदी बहिनीहरुलाई शुभकामना दिइन् ।

नरैनापुरको महिला बालबालिका शाखा प्रमुख कृष्णचन्द्रले अन्तर्राष्ट्रिय महिला दिवस सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा महिलाहरुले प्राप्त गरेका उपलब्धिहरु पहिचान गर्ने तथा गर्व गर्ने अवसर भएको बताए ।

नरैनापुर गाउँपालिका वडा नम्बर–६ का महिला वडा सदस्य रिहाना मुकेरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, अतिथिहरुमा परिवर्तन सहकारी संस्थाका अध्यक्ष सुनिता खाँड, वडा नम्बर–२ का अध्यक्ष मसूद अहमद शाह, वडा नम्बर–३ का अध्यक्ष अजय मिश्रा, वडा नम्बर–४ का अध्यक्ष मनोज शर्मा, महिला बालबालिका शाखा प्रमुख कृषचन्द्र,सशस्त्र प्रहरी निरिक्षक नन्दकिशोर महतो, बरिष्ठ प्रहरी नयाब निरीक्षक पुष्पराज जोशी लगायतले आफ्ना विचार राखेका थिए भने कार्यक्रमको सञ्चालन पम्फा परियारले गरेकी थिइन् ।