हुम्ला पठाउने चामल नेपालगन्जमै थन्कियो


हुम्ला पठाउने चामल नेपालगन्जमै थन्कियो

नेपालगन्ज २८ फागुन : हिमाली जिल्ला हुम्लाका लागि स्थल मार्गबाट दुई सय क्विन्टल मात्र चामल ढुवानी भएको छ । ढुवानी गर्ने समय अवधि सकिए पनि ढुवानीकर्ताले हालसम्म दुई सय क्विन्टल मात्र चामल पठाएको हो ।

गत असार मसान्तसम्म एक हजार पाँच सय क्विन्टल चामल हुम्लामा ढुवानी गर्ने गरी एलबी सप्लायर्स हुम्लाले ठेक्का लिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्ज कार्यालयका प्रमुख रामशरण लामिछानेका अनुसार ढुवानीको समयसीमा पूरा भए पनि ढुवानी नभएको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

यसबारे जिल्ला प्रशासन कार्यालय, हुम्लालाई जानकारी गराएपछि सप्लायर्सले दुई सय क्विन्टल चामल मात्रै हुम्ला पठाएको थियो । बाँकी एक हजार तीन सय क्विन्टल नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयमा थन्किएको प्रमुख लामिछानेले बताए । उनले हुम्लामा खाद्यान्नको अभाव भएपछि आएको गुनासोपश्चात् पटकपटक ढुवानी गर्ने दबाब दिए पनि सुनुवाइ नभएको बताए ।

हवाई मार्गबाट दुई हजार क्विन्टल चामल ढुवानी गर्ने कोटा रहेकोमा हालसम्म एक हजार सात सय क्विन्टल चामल ढुवानी भइसकेको शाखा प्रमुख लामिछानेले बताए । सरकारले यस वर्ष नेपालगन्जबाट हुम्लामा तीन हजार पाँच सय क्विन्टल चामल पु¥याउन कोटा तोकेको छ ।