नेपालगन्ज र जानकीमा आधारभूत तह कक्षा ८ को परीक्षा सुरु


नेपालगन्ज र जानकीमा आधारभूत तह कक्षा ८ को परीक्षा सुरु

नेपालगन्ज ५ चैत्र : बाँकेको नेपालगन्ज र जानकी गाउँपालिकामा आधरभूत तह कक्षा ८ को परीक्षा सुरु भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिकामा १२ वटा परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित परीक्षामा २ हजार ७ सय २५ परीक्षार्थी सहभागी छन् ।

नगरका २५ सामुदायिक र ५३ संस्थागत गरी ७८ विद्यालय सहभागी परीक्षा चैत १३ गतेसम्म सञ्चालन हुने शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । विहान ८ बजेदेखि सुरु हुने परीक्षामा पहिलो दिन आईतबार अंग्रेजी विषयको परीक्षा लिइएको छ ।

सबै परीक्षा केन्द्रहरुको विहान अनुगमन पनि गरिएको थापाले बताए । नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, महाशाखा प्रमुख थापा, शिक्षा समिति सम्बद्ध लगायतले परीक्षा केन्द्रहरुमा पुगी अनुगमन गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

पहिलो दिनको परीक्षा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थापाले जानकारी दिए । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन हरसम्भव प्रयास गरिएको थापाको भनाई छ । २०७४ सालदेखि स्थानीय तहबाट आधारभूत तह कक्षा ८ को परीक्षा सञ्चालन गर्न थालिएको हो ।

यसैबीच, बाँकेको जानकी गाउँपालिकामा पनि आईतबारदेखि आधारभूत तह कक्षा—८ को परीक्षा विहान साढे ७ बजेदेखि शुरु भएको छ ।

परीक्षा सञ्चालनका लागि जानकी गाउँपालिकाको शिक्षा शाखाले ४ वटा परीक्षा केन्द्रहरु निर्धारण गरेको छ । वडा नम्बर–४ खजुराखुर्दस्थित जानकी मावि, वडा नम्बर– ४ गिजरास्थित जनसहयोग आधारभूत विद्यालय, वडा नम्बर–३ स्थित बञ्जारेगाउँ मावि र वडा नम्बर–२ स्थित जोगागाउँ माविमा परीक्षा सञ्चालन भइरहेको छ ।

परीक्षाको पहिलो दिन आईतबार गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, सामाजिक विकास समितिका संयोजक रामआँचल धोवी, पालिकाकी शिक्षा शाखाकी प्रमुख कृष्णाकुमारी भण्डारी लगायतले परीक्षा केन्द्रहरुमा पुगेर अनुगमन र निरीक्षण गरेका थिए ।

अनुगमन र निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष खाँले ४ वटै परीक्षा केन्द्रहरुमा व्यवस्थित र मर्यादितरुपमा परीक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । शिक्षा शाखाकी भण्डारीले अनुगमनका क्रममा ४ वटै परीक्षा केन्द्रहरुमा परीक्षा शान्त, व्यवस्थित र मर्यादितरुपमा सञ्चालन भएको पाइएको बताइन् ।

पहिलो दिन जानकी माविमा १११ जना, जनसहयोग आधारभूत विद्यालयमा १०३ जना, बञ्जारे गाउँमा ५६ र मावि जोगागाउँ मा ७७ जना गरी जम्मा ३४७ विद्यार्थीहरु परीक्षा दिन उपस्थित भएका थिए । भने जानकीमा पहिलो दिन नेपाली विषयको परीक्षा लिइएको थियो ।