नेपालगन्ज ६ चैत्र : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन गरिने भित्तेपात्रो (क्यालेण्डर) र पात्रो (पञ्चाङ्ग) का सञ्चालकलाई रु १० हजारदेखि रु एक लाखसम्म कारबाही गरिने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समितिको आन्तरिक दिग्दर्शन, २०७९ स्वीकृत गरी विधिसम्मत रुपमा प्रकाशन नहुने भित्तेपात्रो र पात्रोका सञ्चालकलाई कानुनी कारबाही गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्ले विसं २०७७ पुष २० गते समितिको गठन आदेश स्वीकृत गरी नेपाल राज्यभरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोको स्वीकृति दिने अधिकार समितिलाई दिएको थियो । गठन आदेश सरकारले २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशन गरेको थियो ।
समितिको स्वीकृति नलिई प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अनुगमन गर्न मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव डाक्टर सुरेशसुरस श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय केन्द्रीय अनुगमन समिति गठन गरिएको छ ।
समितिमा गृह मन्त्रालय, आन्तरिक व्यवस्था महाशाखाका उपसचिव भीमकान्त शर्मा, संस्कृति मन्त्रालयका उपसचिव पुण्यमाया गुरागाईं, समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल र पञ्चाङ्गकार मुरारीराज पाण्डे सदस्य रहेका छन् ।
समितिले आवश्यकता अनुसार उपसमिति पनि गठन गर्न सक्ने व्यवस्था दिग्दर्शनमा गरिएको छ । दिग्दर्शनमा विद्युतीय पात्रो र भित्तेपात्रोले पनि समितिको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । अनुगमनका क्रममा स्वीकृति नलिएको पाइएमा कानुन अनुसार विद्युतीय पात्रो र भित्तेपात्रोलाई पनि कारबाही गरिने समितिका कार्यकारी निर्देशक ढुङ्गेलले बताए ।
अनुगमन समितिले अनधिकृत रुपमा ७७ जिल्लाबाटै प्रकाशन हुने पात्रो र भित्तेपात्रोको अध्ययन गरी सूचना सङ्कलन गर्ने भएको छ । यसका लागि संस्कृति मन्त्रालयले गृह मन्त्रालयमार्फत ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्ने तयारी गरेको छ ।
समितिमा हालसम्म आगामी वर्ष २०८० का लागि एक सय ५० भित्तेपात्रोले स्वीकृति लिएका छन् । हाल अनलाइनमार्फत स्वीकृति लिने भित्तेपात्रोको सङ्ख्या बढिरहेको कार्यकारी निर्देशक ढुङ्गेलले बताए । समितिको स्वीकृति लिएर १५ वटा पात्रो भने गत माघमै प्रकाशन भइसकेका छन् । -रासस
अकस्मात उर्लिनुअघि भोटेकोशीको ‘शीर’मा के भइरहेको थियो?
रसुवा बाढी- तीन महिनाका लागि संकटग्रस्त घाेषणा, सरकारले अरु के निर्णय गर्याे?
तिब्बततिर उद्धारका लागि चिनियाँ राष्ट्रपतिको निर्देशन
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति