बेमौसमी वर्षा : किसानलाई राहत र तनाव


बेमौसमी वर्षा :  किसानलाई राहत र तनाव

नेपालगन्ज ७ चैत्र : स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभावका कारण यतिबेला बाँके र बाँके आसपासको क्षेत्रमा वर्षा भइरहेकोछ । प्रि–मनसुन शुरु नहुँदै पछिल्लो केही दिनयता लगातार पानी परिरहेको छ । बाँकेसहित देशभर हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । वर्षासंगै वातावरणमा चिसोपना बढेको छ।

बेमौसमी वर्षाले कतिपय किसानलाई राहत दिएको छ भने कतिपयलाई तनाव दिएको छ । केही दिनयता परिरहेको पानी खेती किसानको लागि राहत भए पनि कामकाजी मानिसको लागि असहज छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकोले पानी परिरहेको छ । त्यसैका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित वर्षा भइरहेको छ ।

लामो समयपछिको वर्षाले पर्यावरण र किसानलाई राहत मिलेको छ । वर्षापछि हिमपात हुँदा हिमाल हिउँले भरिएका छन् भने सुक्खापनले खङ्ग्रिएका डाँडामा हरियाली देखिन थालेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका प्रमुख वरिष्ठ मौसमविद् डाक्टर इन्दिरा कँडेलले लामो समयको खडेरीपछिको वर्षाले वातावरण सफा हुनका साथै किसानलाई ठूलो राहत मिलेको बताइन् ।
‘पाँच महिनापछि फागुनको अन्तिममा भएको हिउँदे वर्षाले केही पर्यावरण राम्रो भएको छ भने किसानलाई ठूलो राहत भएको छ’, उनले भनिन्, ‘अहिले हिउँदे वर्षा सकिएर प्रि–मनसुन सुरु भइसकेको छ ।’ वर्षका कारण सहरी क्षेत्रमा बढेको प्रदूषण न्यूनिकरणमा पनि ठूलो सहयोग पुगेको छ ।

चैत्रको पहिलो साता भएको वर्षाबाट खासगरी मकै, चैतेधान र हिमाली क्षेत्रमा आलुलगायत बालीनाली लगाउन लागि किसानलाई सहज भएको उनको भनाइ छ ।

‘कात्तिकदेखि फागुनसम्म वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । खडेरीपछिको वर्षाले किसान खुसी भएका छन् । वातावरण सफा भएको छ’, वरिष्ठ मौसमविद् कँडेलले भनिन् ।

वातावरणविद् भुषण तुलाधरले वर्षाले वातावरणलाई स्वच्छ र सफा बनाएको बताए । ‘वर्षाले पर्यावरणमा सकारात्मक प्रभाव पार्छ, वातावरण सफा बनाउनुका साथै जलवायु परिवर्तनलाई कम गराउँछ’, उनले भने, ‘साधारणतया यो सिजनमा प्रदूषण बढी हुन्छ । लामो समयदेखि वर्षा नभइरहेको अवस्थामा भएको वर्षाले वायु प्रदूषण नियन्त्रणमा सहयोग पुग्नुका साथै कृषि क्षेत्रलाई ठूलो राहत मिलेको छ ।’

मार्च, अप्रिल र मेमा हुने वर्षालाई प्रि–मनसुन मानिन्छ । यो सिजनमा बिहान र दिउँसो मौसम सामान्यतया सफा रहेपनि अपरान्ह्पछि मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

‘वर्षाले वातावरण सफा भएको छ, प्रदूषण कम हुनका साथै किसानलाई पनि राहत भएको देखिन्छ । हिमाली भू–भागमा हिमपात भइरहेकाले पनि मौसम सफाल भएको छ’, उनले भने ।

यो सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आरोही आउने सिजन पनि हो । यही समय सर्वाधिक सङ्ख्यामा स्वदेशी तथा विदेशी आरोही आरोहणमा जाने गर्छन् ।

पछिल्ला दिनमा भइरहेको वर्षाका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । हिमपातका कारण कालापत्थर जस्तै देखिन थालेका हिमाल सेताम्मे भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका वर्षाका कारण पूर्वदेखि पश्चिमसम्मको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भूभाग र तराईका केही क्षेत्रमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाकोे सम्भावना छ । भोलिदेखि क्रमिक रुपमा मौसम सुधार हुनेछ भने क्षणिक बदली र वर्षा भए पनि निरन्तर मौसम प्रतिकुल भने हुने छैन ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना छ ।