नेपालगन्जमा भारुको विनिमय दरमा विचलन

भारु लिनेहरू नभेटिँदा बिक्री भाउ घट्यो


नेपालगन्जमा भारुको विनिमय दरमा विचलन

नेपालगन्ज ८ चैत्र : विगतमा मुद्रा अभावमा निर्धारित दरभन्दा बढी भुक्तान गरी भारु खरिद गर्नुपरेकामा नेपालगन्ज क्षेत्रमा अहिले स्थिर विनिमय दरभन्दा कममा भारुको कारोबार हुने गरेको छ ।

केही महिना पहिलेसम्म भारतीय मुद्राको अभावका कारण स्थानीयले सय रुपैयाँ भारु लिँदा ६ रुपैयाँसम्म बढी तिरेर लिनुपर्ने बाध्यता थियो भने अहिले प्रतिसय रुपैयाँमा ५ रुपैयाँ कम दिएर पनि पाउन थालेको छ । नेपाल राष्ट्र बैङ्कले निर्धारण गरेको स्थिर विनिमय दरअनुसार नेपाली १६० रुपैयाँ बराबर भारतीय एक सय हुन्छ ।

सीमा क्षेत्रका नेपाली बजारमा भारु बढी भित्रिएपछि अभाव समाप्त हुनुका साथै भारतीय नोटको माग पनि घटेकाले कम मूल्यमै भारुको लेनदेन हुन थालेको स्थानीय व्यवसायी बताउँछन् ।

विगतमा स्थानीयले १६३ देखि १६८ रुपैयाँसम्म तिरेर सय रुपैयाँ लिने गरेकोमा हाल १५५ रुपैयाँमै सय रुपैयाँ भारु पाउन थालेको छ । तस्करी र हुण्डीबाट मागभन्दा बढी भारु नेपाल भित्रिँदा केही महिनायता सीमावर्ती बजारमा भारु कमजोर भएको स्थानीय व्यवसायीको आँकलन छ ।

Kids Festival 2022
kanti aarogya hospital

सुन तस्करी र नेपालगन्जका क्यासिनोका कारण पनि बजारमा भारु नोट आपूर्ति बढेको हुन सक्ने व्यवसायीको आँकलन छ । अहिले नेपाली रुपैयाँ बलियो हुनुमा बजारको मागभन्दा बढी अवैध रूपमा भारु भित्रिनु मुख्य कारण हुनसक्ने यहाँका व्यवसायी बताउँछन् ।

केही महिनाअघिसम्म नेपाल राष्ट्र बैङ्कको नेपालगन्जस्थित शाखा कार्यालय र त्यहाँका मुद्रा सटही काउण्टरमा भारतीय मुद्रा किन्नेको भीड लाग्थ्यो । माग धेरै हुँदा त्यति बेला भारतीय मुद्राको अभाव हुन्थ्यो र बढी कमिसन दिएर मात्र बजारमा सटही गर्न पाइन्थ्यो । तर, अहिले अवस्था फेरिएको छ । अहिले भारु बजारमा धेरै भित्रिएपछि भारु लिनेहरू नभेटिँदा बिक्री भाउ घटेको छ ।