बाँकेमा मिटर ब्याजीविरुद्ध २२ वटा उजुरी, सरकारले वार्ता थाल्यो


बाँकेमा मिटर ब्याजीविरुद्ध २२ वटा उजुरी, सरकारले वार्ता थाल्यो

मिटर ब्याज पीडित । फाइल तस्बिर

नेपालगन्ज १३ चैत्र : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटर ब्याजीविरुद्ध २२ ओटा उजुरी परेका छन् ।

उजुरी परेकामध्ये १५ मुद्दा अदालती प्रक्रियामा पुगेको, दुई मुद्दा मिलापत्र भएको, दुई मुद्दा प्रहरीमा पठाएको, एउटा व्यक्ति सम्पर्कमा नआएको र दुई मुद्दा कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जिल्लामा मिटर ब्याजीको ठूलो समस्या नरहेको उल्लेख गर्दै नियमित रुपमा कारबाही प्रक्रियालाई अघि बढाइएको बताए । ‘पूर्वतिर जस्तो समस्या देखिएको छैन’, उनले भने ।
आर्चायले अदालतमा पुगेका मुद्दा अदालतबाट टुङ्गो लाग्ने जानकारी दिँदै केही मिलापत्र भएको र एउटा व्यक्ति सम्पर्कमा नआएकाले खोजी भइरहेको बताए ।

मिटरब्याजी पीडितलाई सरकारले उजुरी गर्न आग्रह गरेपछि यस विषयमा छानबिन सुरु गरिएको हो । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । एकै जनाले एक करोड रुपैयाँदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् ।

बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर, आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिने गरेकोछ ।

वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ । मासिक रूपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रूपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन् ।

सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने प्रहरीको भनाईछ ।

यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ । मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रूप लिएको देखिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरू पनि भेटिएका छन् ।

यसैबीच, मिटरब्याजीको विरुद्ध आन्दोलन गर्न काठमाडौँ पुगेका आन्दोलनकारीसँग सरकारले वार्ता थालेको छ । आन्दोलनकारी हिजो आईतबार मात्रै काठमाडौँ पुगेका हुन् ।

काठमाडौँ पुगेको थाह पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको नेतृत्वमा एक टोलीले आन्दोलनकारी बसेको ठाउँमै पुगेर वार्ता थालेको छ । आन्दोलनकारी यतिबेला मातातिर्थमा बसेका छन् ।

गत चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू हिजो आईतबार दिउँसो मात्रै काठमाडौँ पुगेका हुन् । उनीहरु आफ्नो माग पूरा नभएसम्म काठमाडौँमा रहने बताएका छन् ।