काँग्रेस बाँकेले विगतको समीक्षा र आगामी कार्ययोजनाका लागि जिल्ला सम्मेलन गर्दै


काँग्रेस बाँकेले विगतको समीक्षा र आगामी कार्ययोजनाका लागि जिल्ला सम्मेलन गर्दै

नेपालगन्ज १६ चैत्र : नेपाली काँग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने भएकोछ । आगामी चैत्र १८ गते बाँकेमा जिल्ला सम्मेलन गर्नेभएको हो ।

१४ औं महाधिवेशन पश्चात काँग्रेस बाँकेले पहिलोपटक जिल्ला सम्मेलन गर्न लागेको छ । सम्मेलनमा पार्टीका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने काँग्रेस बाँकेले जनाएको छ ।

पार्टी कार्यालय नेपालगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी सभापति नारायणप्रसाद गौडेलले सम्मेलनबारे जानकारी गराउँदै सम्पूर्ण तयारी पूरा भएको बताएका छन् ।

बाँकेका कुल एक हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनमा सांगठानिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसँगै प्रजातन्त्र सेनानी, पूर्व पार्टी सभापति, उत्कृष्ट वडा सभापति, महिला वडा सभापति, शहिद परिवार तथा जनआन्दोलन र द्वन्द्वका घाइतेलाई सम्मान गर्ने कार्यक्रम रहेको गौडेलले सुनाए ।

Kids Festival 2022
kanti aarogya hospital

सम्मेलनलाई विगतको समीक्षा र आगामी कार्ययोजना प्रस्तुत गर्ने थलोको रुपमा प्रयोग गरिने सभापति गौडेलले पत्रकार समक्ष बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सभापति गौडेलले काँग्रेस बाँकेको नेतृत्वले पार्टीलाई प्रभावकारी रुपमा गाउँगाउँमा पु¥याउन र जिल्लामा सबैतिर देखिने, सुनिने र अनुभूति गर्ने काँग्रेस बनाउन सामाजिक र सिर्जनात्मक क्रियाकलापहरु गरिरहेको उल्लेख गरे । चुस्त, दुरुस्त र धारिलो संगठन बनाउने कामलाई अभियानको रुपमा अघि बढाउन पार्टीपंक्ति लागिपरेको काँग्रेस बाँकेले जनाएको छ । पार्टीले अब गाउँ–गाउँमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने गौडेलले बताए ।

सम्मेलनमा जिल्लाभरका क्षेत्रीय प्रतिनिधिहरु सहभागी हुनेछन् । पत्रकार सम्मेलनमा उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण कार्की, सचिव सुधांशु कोइराला, सहसचिवद्वय रेण सिंह ठाकुर र विनोदकुमार थारु, कोषाध्यक्ष यज्ञबहादुर बस्नेत लगायत उपस्थित थिए । कार्यक्रमको सञ्चालन सचिव कोइरालाले गरेका थिए ।