बाँकेको पत्रकारिता जोगाउन आग्रह


बाँकेको पत्रकारिता जोगाउन आग्रह

नेपालगन्ज २० चैत्र : बाँकेको पत्रकारिता जोगाउन पत्रकारिताको मुल मर्म र धर्म बचाउन आग्रह गरिएकोछ । बाँकेमा पछिल्लो समय देखापरेको सञ्चार क्षेत्रसँग सम्बन्धित विषय केन्द्रित रहेर नेपाल पत्रकार महासंघ बाँके शाखाले सोमबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियाका वक्ताहरुले यस्तो आग्रह गरेका हुन् ।

उनीहरुले मुलधारको पत्रकारिता जोगाउन सकिएन भने पत्रकारिताको मुल मर्म र धर्म नै बचाउन नसकिने भन्दै मिडियामैत्री सञ्चार नीति निर्माणसँगै कार्यान्वयनमा जोड दिए । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको उक्त छलफलमा सहभागि जिल्लाका विभिन्न सञ्चारमाध्यमका सम्पादक, कार्यरत पत्रकार तथा पत्रकारका अगुवाले ब्यवसायीक पत्रकारितासंगै स्वस्थ प्रतिस्प्रर्धा अपिहार्य रहेको औल्याए ।

पछिल्लो समय सञ्चारक्षेत्रमा आएको संख्यात्मक बृद्धिले आम पाठक र जनताको वास्तविक सवाल र मुद्दा भन्दा बाहिर गएर सामाग्री पस्किने गरिएको भन्दै पत्रकारिता र पत्रकार गम्भीर बन्न आग्रह गरियो । ब्यवसायीक पत्रकारिता भन्दा बाहिर रहेर गरिने पत्रकारिताले सिंगो समाजमा विकृति फैलिने र यसले पत्रकार र सञ्चारगृह जोखिममा परेको उनीहरुको बुझाई छ ।

पत्रकार र सञ्चारगृहले आफ्नो जिम्मेवारी सही ढंगबाट निर्वाह गर्न नसक्दा पत्रकार र सञ्चारगृहमाथि आक्रमण हुने गरेको समेत बाँकेका पत्रकारको बुझाईछ । स्थानीय पालिकाले जिल्लामा निरन्तर सञ्चालनमा रहेका सञ्चारगृहलाई वेवास्ता गरि मनपरी मिडियाका लागि विनियोजित बजेट तथा कार्यक्रमहरु प्रदान गर्दै आएकाले बाँकेको पत्रकार र सञ्चारगृहले यसको लाभ लिनबाट बञ्चित हुन पुगेको उनीहरुको गुनासोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उनीहरुले बाँकेका सञ्चारगृह चलायमान बनाउन पालिका तहमा मिडियामैत्री वातावरण निर्माण गर्दै सञ्चार नीति निर्माण गरिनु पर्ने बताए । यसका लागि पत्रकार महासंघले सहजिकरणको भूमिका खेल्न सुझाव दिँदै समाजको उत्तरदायित्व र जवाफदेहिताका लागि पत्रकार र सञ्चारगृह लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोद भण्डारी, महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, महासंघ बाँके पूर्व अध्यक्ष निरज गौतम, महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्य, नेपाल प्रेस युनियन बाँकेका सचिव विजय मल्ल, पत्रकारहरु तुला अधिकारी, गोपिन्द्र बुढा, कमल खत्री, प्रदीप वाग्ले, गणेश विसु राम ओली लगायत बोलेका थिए । कार्यक्रम महासंघ बाँके सचिव कमल डाँगीले सञ्चालन गरेका थिए ।