नेपालगन्ज २१ चैत्र : निर्माण व्यवसायीले समयमै काम नसक्दा बाँकेको खजुरा गाउँपालिकामा गौरवका योजना अधुरो रहेको पाइएकोछ । २०७८ साल भदौ ३० गते सम्पन्न हुने गरी खजुरा गाउँपालिकामा निर्माण सुरु गरिएको शीतभण्डारको निर्माण अझै अधुरो रहेको हो ।
रविना÷अभियान÷जुगल जेभी तीनकुनेले छ करोड १४ लाख रुपैयाँको लागतमा निर्माणको जिम्मा लिए पनि पालिकाअन्तर्गत गौरवको यो आयोजना निर्माण हुन सकेको छैन । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीका अनुसार पालिकामा सञ्चालित अधिकांश गौरवका आयोजनाको निर्माणमा ढिलाइ भएको छ । पालिकाले बढी लागतका योजनालाई गौरवको आयोजनाका रूपमा समावेश गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सुरु भएको १५ शय्याको अस्पताल, शीतभण्डार, बहुउद्देश्यीय सभा हलको काम हालसम्म सम्पन्न हुन सकेको छैन । सडक र नालीसहितका २० वटा योजना निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेका छन् । ती योजना समयमै सम्पन्न हुन नसक्दा विकास निर्माणका योजनाप्रति सर्वसाधारणले गरेको आशा निराशामा परिणत भएको छ । पालिकाबाट बजेट विनियोजन भएर काम सुरु भएपछि उत्साहित भएका स्थानीय अहिले निराश बन्न थालेका छन् ।
‘आर्थिक वर्ष २०७५÷७६ देखिका योजनासमेत निर्माण सम्पन्न नभएको अवस्था छ,’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भने, ‘निर्माण व्यवसायीले समयमा नै काम नसक्दा निर्माणका लागि आएको पैसा फ्रिज हुने र पालिकालाई अनावश्यक दायित्व बढ्दै गएको छ ।’ पुराना योजना मात्रै नभई चालु आर्थिक वर्षका योजनाको समेत सन्तोषजनक प्रगति देखिएको छैन । चालु आवमा २६ योजना ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरी सम्झौता भएकोमा केही योजना कार्यान्वयन भएका छैनन् ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले ठेक्का लिने तर, समयमै काम नगर्ने परिपाटी बन्न थालेको भन्दै यसबाट समग्र विकास निर्माण प्रभावित भएको बताए । उनले ठेक्का लिएर काम नगर्ने निर्माण व्यवसायीलाई अबका दिनमा कडाइका साथ कारबाही गरिने बताए । विकास निर्माणका काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई छिटो काम अघि बढाउन सचेत गराउँदै पत्राचार गरिएको छ । तत्कालै निर्माण अघि नबढाए खरिद ऐन र प्रचलित कानूनअनुसार कारबाहीको प्रक्रियामा जाने चेतावनी उनले दिए ।
रसुवाको बाढी अनुमानभन्दा भयावह, स्थानीयसँग सम्पर्क टुट्दा उद्धारमा चुनौती
भोटेकोशी बाढीमा ठुलो मानवीय क्षति भएको अनुमान छः सहायक प्रजिअ
अचानक उर्लियाे भाेटेकाेशी, रसुवामा ब्यापक क्षति
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ