लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण


लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीद्वारा प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण

नेपालगन्ज २२ चैत्र : बाँकेको खजुरा गाउँपालिकास्थित प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बुधबार निरीक्षण गरेकाछन् ।

प्रस्तावित लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माण स्थलको निरीक्षण गर्दै मन्त्री गिरीले सम्बद्ध सरोकारवालासँग छलफल समेत गरेकाछन् ।

खजुरा गाउँपालिका वडा नम्बर ७ मा ३७ र वडा नम्बर ८ मा ८१ बिघामा विश्व विद्यालयलाई आवश्यक पर्ने जमिन प्राप्तिका लागि प्रक्रिया अघि बढाउन लागिएको छ ।

सो क्रममा मुख्यमन्त्री गिरीसँग खजुरा क्षेत्रका स्थानीयले आफूहरूलाई व्यवस्थापन हुने गरी काम गर्न सुझाव दिएका छन् । मुख्यमन्त्री गिरीले प्रदेशको गौरव योजनाका रूपमा रहेको विश्वविद्यालयबाट प्राविधिक जनशक्ति उत्पादनमा योगदान हुने भएकाले सबैको सहयोग आवश्यक भएको बताए ।

सोक्रममा उपस्थित भएका खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले विश्वविद्यालय निर्माणको काम सुरु भएपछि स्थानीयबासीको व्यवस्थापन हुने विश्वास दिलाएका थिए ।

निरीक्षणका क्रममा बाँके क्षेत्र नम्बर– १ का प्रतिनिधी सभाका सांसद सुर्य ढकाल, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, खजुरा गाउँपालिकाका निर्वतमान अध्यक्ष किस्मतकुमार कक्षपति, नेपाली काँग्रेस खजुरा गाउँपालिका सभापति रमेश सिजाली, एमालेका युवा नेता भिम ओली, गोपाल गिरी लगायत स्थानीय बासिन्दाको उपस्थिती रहेको थियो ।

यसैबीच विश्वविद्यालयको ‘सिनेट’ बैठक पनि बुधबार नै नेपालगन्जमा बस्ने बताइएकोछ । उक्त बैठकले लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सेवा आयोगका सदस्य नियुक्ती र थप बजेट माग गर्ने निर्णय गर्नेछ ।