अब बच्चाको जन्मदर्ता ‘मावलीकै थर’बाट हुने


अब बच्चाको जन्मदर्ता ‘मावलीकै थर’बाट हुने

नेपालगन्ज २३ चैत्र : राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक महिलाबाट जन्मेको बच्चाको जन्मदर्ता मावलीकै थरबाट गर्न देशभरिका वडालाई निर्देशन दिएको छ । विभागले एकल महिलाको जन्मदर्ता गर्न ७५३ स्थानीय तहका ६ हजार ७४३ वडालाई परिपत्र गरेको छ ।

एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नभएको बच्चाको जन्मदर्ता गर्ने विषयमा विभागले थप प्रस्ट पार्दै मावलीकै थरबाट जन्मदर्ता गर्न वडालाई पत्राचार गरेको हो । विभागले लेखेको पत्रमा भनिएको छ, ‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी बच्चासहित पतिको ठेगानमा सँगै बसेको भए उक्त बच्चाको मावलीकै थर राखी आमाको हालको स्थायी ठेगानामा जन्म दर्ता गरिदिने ।’

त्यस्तै विवाह अघि जन्म भएको तर, पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर, उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर कायम गरी मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्मदर्ता गरिदिन विभागले निर्देशन दिएको छ ।

बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिन पनि विभागले निर्देशन दिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

‘प्रकरण नं.(१) र (२) अनुसार बच्चाको जन्मदर्ता भइसकेपछि बाबुको ठेगान पत्ता लागेको अवस्थामा सो जन्मदर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट नयाँ जन्म दर्ता गरिदिने,’ परिपत्रमा भनिएको छ ।

यीबाहेकका अन्य अवस्थामा भने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधनसहित), २०७७ र विभागको यसअघिका परिपत्रअनुसार गर्न परिपत्रमा भनिएको छ ।