देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

खड्काले गृह जिल्ला पुगेर माटोलाई ढोगे


देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री खड्का

File Photo

नेपालगन्ज २५ चैत्र : ठूलो परिवर्तनबाट देशमा शान्ति र संविधान बनेकाले स्थिरता र देशको रक्षाका लागि बनेको गठबन्धन नभत्किने नेपाली कांग्रेसका उपसभापति तथा नेपाल सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बताएका छन् ।

प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा देश र जननताको रक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री खड्काले बताएका हुन् ।

राष्ट्रियतका रक्षाका लागि चुच्चे नक्सा सार्वभौम सम्पन्न सदनले पारित गरेको उपप्रधानमन्त्री खड्काले बताए । ‘हाम्रो मुलुकको भू–भाग यो हो भनेर नक्सा पारित गरेका छौँ । त्यो समस्याको समाधान दुइपक्षीय कुटनीतिक वार्ताद्वारा त्यसको समाधानको प्रक्रिया अगाडि बढछ ।’

भारतसँगको सीमा विवाद बारे उनले भने, ‘त्यसलाई अन्य ढंगबाट समाधान गर्ने बाटोतिर अघि बढ्यौं भने हामी अप्ठेरोमा पर्ने बाटोमा जान्छौं । यो कुरा उत्तेजनामा, आवेगमा समाधान गर्ने विषय होइन ।’

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

उनले धैर्यवान भएर, इतिहासको पाठ सिक्दै, विश्वासको वातावरण बनाएर यस्ता समस्याको समाधान गर्नुपर्ने बताउँदै यो रक्षा मन्त्रालयले गर्ने कुरा मात्रै नभई नेपालको भूभागको रक्षा गर्ने कुरामा नेपाली सेना प्रतिबद्ध रहेको बताए ।

खड्काले मुलुकको अर्थतन्त्र कमजोर बनिरहेको र कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको उपप्रधानमन्त्री बताए । कर्णाली प्रदेश सरकार केन्द्रकै गठबन्धन अनुसार बनाइने बताउँदै चाँडै सरकारका बारेमा आवश्यक निर्णय हुने पनि उनले बताए ।

‘मुलुकको अर्थतन्त्र ऋणात्मक कमजोर बनिरहेको र कर्मचारीलाई तलव खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको छ ।’ उनले भने,‘यो सरकारले त्यसबाट मुक्ति दिलाउन आवश्यक नीति, कार्यक्रम र बजेट ल्याएर कार्यान्वयन गर्नेछ ।’

अब कर्णालीको विकासका लागि केन्द्रबाट प्रयाप्त बजेट पाउने समेत उनले बताए ।

खड्काले गृह जिल्ला पुगेर माटोलाई ढोगे

यसअघि उपप्रधान एवम् रक्षा मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थलमा जहाजबाट ओर्लने बित्तिकै माटोलाई ढोगेका थिए । गृह जिल्लामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री भएपछि खड्का शनिबार सुर्खेत पुगेका हुन् ।

खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा स्थानीयको धुइँचो थियो । सुर्खेत विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरू आफूबाट नहुने बताए ।

‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रूपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी बिसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम ग¥यो भन्ने जस प्राप्त गर्न सकूँ,’ खड्काले भने, ‘त्यहीँ तागत, आर्सीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगेको प्रस्ट पारे ।