नेपालगन्ज कारगारमा कैदीबन्दी कोचाकोच, खुल्ला कारागार सञ्चालनमा आउन सकेन


नेपालगन्ज कारगारमा कैदीबन्दी कोचाकोच, खुल्ला कारागार सञ्चालनमा आउन सकेन

कारागारमा अनुगमन गर्न पुगेको मानवधिकारकर्मीको टोली ।

नेपालगन्ज २८ चैत्र : बाँकेको नेपालगन्जस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको छ । गर्मी बढ्दै गएको बेला पनि यहाँस्थित कारागारमा कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको हो ।

बाँके जिल्लामा मानवअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका अगुवा मानवअधिकारकर्मीहरुको एक टोलीले यहाँस्थित कारागारको अनुगमन गर्दा ठाउँ अभावले गर्मीमा पनि कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको जनाएको हो ।

तीन सय ५० जना कैदीबन्दी राख्ने क्षमता भएको यस कारगारमा ठाउँ अभावका कारण करिब तेब्बर बढी आठ सय ३९ जना कैदीबन्दीलाई कोचाकोच गरेर राखिएको पाइएको अनुगमन टोलीका अगुवा एडभोकेसी फोरम लुम्बिनी प्रदेशका वरिष्ठ संयोजक अधिवक्ता बसन्त गौतमले बताए । बढ्दो गर्मीमा पनि यसरी कैदीबन्दीलाई कोचाकोच गरेर राख्दा उनीहरुको मानवअधिकार उलङ्घन भएको उनको भनाइ छ ।

अधिवक्ता गौतमका अनुसार सो कारगारका महिला थुनुवालाई बर्दिया स्थानान्तरण गरि दुई वटै ब्लकमा पुरुष कैदीबन्दी मात्रैलाई राखिएकोमा ब्लक ‘ए’ मा ६ सय १७ जना र ब्लक ‘बि’ मा दुई सय ३२ कैदीबन्दी राखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभात कुमार ठकुरीले नेपालगन्जको गर्मीमा कैदीबन्दीलाई कोचाकोच बस्न बाध्य पारिनु उनीहरुको आधारभूत मानवअधिकार बिरुद्धको कार्य भएको बताए ।

अधिकारकर्मीले कारागारका जेलर अर्जुनजंग शाह र कैदीबन्दीका नाइके, चौकीदार तथा कैदीबन्दीसग कारागार व्यवस्थापन र कैदीबन्दीको अवस्थाका बारेमा छलफल गरेका थिए ।

अधिकारकर्मीसमक्ष कैदीबन्दीले क्षमताभन्दा धेरै बढी बस्नुपर्दा कोचाकोचको स्थितिमा कष्ठकर दैनिकी व्यतित गर्नुपरेको, सोही कारणले कैदीबन्दीमा छालासम्बन्धी रोग देखिने गरेको र बिजुलीको कम भोल्टेजको समस्या हुनेलगायतका गुनासो गरेको मानवअधिकार एलाइन्सका ठकुरीले बताए ।

एकातिर सो कारगारमा ठाउँ अभावले कोचाकोचको समस्या छ भने अर्कोतिर तीन हजार कैदीबन्दी राख्ने क्षमतासहितको सुविधासम्पन्न क्षेत्रीय कारागार बाँकेको गनापुर निर्माण भए पनि सञ्चालनमा आउन सकेको छैन । ९ बिगाहको क्षेत्रफलमा निर्माण गरिएको उक्त कारागार प्रयोगविहीन बन्दा जीर्ण हुँदै गएकोछ ।

बाँकेको गनापुरमा भवन निर्माण भएको वर्षौ हुँदा समेत खुल्ला कारागार सञ्चालनमा आउन सकेको छैन । ट्रायलको रुपमा नमुना प्राजेक्ट लागु गर्ने लक्ष्यका साथ सानातिना मुद्धामा परेका थुनुवालाई राख्ने उदेश्यले निर्माण गरिएको खुल्ला कारागार सञ्चालन कार्यबधि बन्न नसक्दा सञ्चालन आउन नसकेको हो । सरकारी उदासिनता कै कारण करौडौ लगानी गरेर निर्माण गरिएका भौतिक संरचना त्यतिकै थन्कीएका छन् ।

कारागारका जेलर अर्जुनजंग शाहले अर्थ मन्त्रालयले बजेट रोकी दिएकाले कर्मचारी व्यवस्थापन हुन नसक्दा तीन हजार क्षमताको क्षेत्रीय कारागार सञ्चालनमा आउन नसकेको बताए । उनले सो क्षेत्रीय कारगार सञ्चालनमा आएपछि ठाउँ अभावको समस्या आफै समाधान हुने पनि बताए ।