नरैनापुरका मदरसा ‘खारेज’ गर्दै अध्यक्ष शाह, शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान


नरैनापुरका मदरसा ‘खारेज’ गर्दै अध्यक्ष शाह, शुक्रबारदेखि विद्यार्थी भर्ना अभियान

नरैनापुर(बाँके) २९ चैत्र : ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ शुक्रबारदेखि बाँकेको नरैनापुर गाँउपालिकाको छ वटै वडामा एकैसाथ विद्यार्थी भर्ना अभियान शुरु हुने भएको छ ।

नरैनापुर गाँउपालिकाको शिक्षा शाखा मार्फत विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउने उद्देश्यका साथ विद्यार्थी भर्ना अभियान शुरु गर्न लागिएको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

शिक्षा समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष शाहले विद्यालय भर्ना अभियानमा विद्यार्थीहरुको सहभागिता उत्साहजनक भए पनि असार नलाग्दै पुनः विद्यालय भन्दा बाहिर जाने गरेकोले विद्यार्थीहरुलाई टिकाउने गरी योजना बनाएर अगाडि बढन शिक्षा समितिलाई निर्देशन दिए ।

गाउँपालिकाको समग्र शैक्षिक गुणस्तरता बृद्धि तथा विद्यार्थी टिकाईराख्न विद्यार्थी र अभिभावक लक्षित विशेष कार्यक्रम गरिने बताउँदै अध्यक्ष शाहले नामका लागि मात्र दर्ता रहेका मदरसाहरुलाई खारेज गर्ने बताए ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जुनसुकै बहानामा विद्यार्थीहरु बिचमै बिद्यालय छोड्नु राम्रो नभएको बताउँदै बिद्यालय र अभिभावकलाई यसमा गम्भीर बन्न सुझाव दिए ।
उनले विद्यार्थी टिकाउन र गुणस्तरीय शिक्षा दिन नसक्ने विद्यालयलाई कारबाही गर्ने प्रष्ट्याए ।

योजना शाखा प्रमुख प्रकाश अधिकारीले लोक सेवा अयोग बाट आएका शिक्षकहरुलाई मनोपरी सहमति पत्र दिने काम बन्द गरी शिक्षाको गुणस्तर सुधार गर्नतर्फ केन्द्रित हुन बिद्यालयका प्रधानाध्यपकहरुलाई आग्रह गरे ।

शिक्षा शाखा प्रमुख कृष्ण थारुले विद्यालय जाने उमेर समूहका कोही बालबालिका पनि विद्यालय जानबाट बञ्चित हुन नपरोस भन्दै भव्यरुपमा घरदैलो अभियान सञ्चालन गर्न शिक्षकहरुलाई निर्देशन दिए ।

शिक्षा शाखा प्रमुख थारुले मदरसा शिक्षालाई गाँउपालिकाले व्यवस्थित गर्ने तयारी गरेको बताउँदै २०८० को भर्ना अभियानमा असफल हुने मदरसा र विद्यालयलाई नियमानुसार कारबाही गर्ने बताए ।

शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षका स्वकीय सचिव बिरजेन्द्र यादवले शिक्षा क्षेत्रमा हुने राजनीतिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ केन्द्रित हुन सुझाव दिए ।

उनले नरैनापुरमा ३० वटा मदरसा र २१ वटा बिद्यालयमा १२ हजार विद्यार्थी रहेको बताए ।

नरैनापुर गाँउपालिकाले बिद्यार्थीहरुलाई बिद्यालयसम्म ल्याउनका लागि बस सञ्चालन गरेपछि विद्यार्थीहरुको संख्या बृद्धि भएको शिक्षा समितिका सदस्य सन्तोष श्रीवास्तवले बताए ।

शिक्षा समितिको बैठकमा सहभागि शिक्षकहरुले कतिपय विद्यालयहरुमा शिक्षकको अभाव र केही विद्यालयमा भवनको अभाव रहेको गुनासो गरेका थिए । गाँउपालिकाले आउने वर्षदेखि शिक्षक लागयतको समस्य हुन नदिने गरी तयारी गरेको गाँउपालिकाले जनाएको छ ।